|
9,000 SHARES |
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका मा इन्डो–नेपाल अण्डर–१३ टी–२० क्रिकेट प्रतियोगिता चैत २७ गतेदेखि सुरु हुने भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता १२ दिनसम्म सञ्चालन हुने जनाइएको छ।
प्रतियोगितामा नेपालका विभिन्न टोलीसँगै भारतको कोलकाता र पटना बाट आएका दुई टोलीसहित कुल १० टोलीको सहभागिता रहनेछ। प्रतियोगिता लिग–कम–नकआउट ढाँचामा सञ्चालन गरिनेछ, जसअनुसार टोलीहरूलाई दुई समूहमा विभाजन गरिनेछ। प्रत्येक टोलीले समूहमा चार–चार खेल खेल्नेछ र अंकका आधारमा शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
सेमिफाइनलबाट उत्कृष्ट दुई टोली फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै, लिग चरणमा ‘प्लेयर अफ द म्याच’ लाई १ हजार, सेमिफाइनलमा २ हजार र फाइनलमा ५ हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रतियोगिताभर उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख २३ हजार रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ। सह–आयोजक बोस्टन क्रिकेट एकेडेमीका सञ्चालक विनित बाँस्तोलाले यस्तो प्रतियोगिताले बाल खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने र प्रतिभा पहिचानमा टेवा पुग्ने बताए।
कार्यक्रममा नगरप्रमुख बलदेबसिंह गोम्देन ले खेलकुदमार्फत पनि भविष्य निर्माण गर्न सकिने सम्भावना बढ्दै गएको उल्लेख गर्दै स्थानीय तहले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताए। साथै, वडा नम्बर १० का अध्यक्ष खगेन्द्र इङनाम र वडा नम्बर ६ का अध्यक्ष हरिसचन्द्र बाँस्तोलाले प्रतियोगिता सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव खगेन्द्र लिङदेनले सञ्चालन गरेका थिए भने सदस्य तिलक योञ्जनले स्वागत मन्तव्य राखेका थिए।










