|
9,000 SHARES |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक आज दिउँसो ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बोलाइएको हो।
केन्द्रीय समिति बैठक सकिएलगत्तै संसदीय दलको बैठक पनि बस्ने कार्यसूची तय गरिएको छ। बैठकमा संसदीय दलको नेता चयन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
रास्वपाका नेताहरूका अनुसार यसअघि काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाह (बालेन) सँग भएको ७ बुँदे सहमतिअनुसार उनलाई संसदीय दलको नेतामा चयन गर्ने तयारी गरिएको छ। उक्त सहमतिमा पार्टी सभापति रवि लामिछाने रहने र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने उल्लेख छ।
यसैबीच, नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम आज संसद भवन, सिंहदरबारमा आयोजना हुँदैछ। रास्वपाले शुक्रबार बालेनलाई प्रधानमन्त्रीको शपथ गराउने तयारी अघि बढाएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत हासिल गरेपछि संविधानको धारा ७६(१) अनुसार बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ। त्यसअघि पार्टीले उनलाई संसदीय दलको नेता चयन गरेको जानकारी राष्ट्रपति कार्यालयलाई गराउने तयारी गरेको छ।










