|
9,000 SHARES |
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने कार्यमा पाँच जना सोसल मिडिया इन्फ्लुएन्सर संलग्न रहेको जाँचबुझ आयोगले ठहर गरेको छ।
आयोगको प्रतिवेदनअनुसार टंक दाहाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपानेले विभिन्न अपुष्ट तथा भ्रामक सामग्री प्रसारणमा भूमिका खेलेको उल्लेख गरिएको छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार २३ गते भएको घटनासँग जोडेर चुच्चेपाटीस्थित भाटभटेनीमा ३५ शव फेला परेको तथा ३२ जना प्रदर्शनकारी बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएको भन्ने गलत सूचना सामाजिक सञ्जालमा फैलाइएको थियो।
त्यस्तै, पत्रकार दिलभूषण पाठकले हिल्टन होटलसम्बन्धी बनाएको समाचारको विषय पनि प्रतिवेदनमा समावेश छ।
‘पत्रकार दिलभूषण पाठकले केही समयअघि हिल्टन होटलमा शेरबहादुर र आरजु देउवाका छोरा जयवीर सिं देउवाको लगानी छ भनी तथ्यहीन प्रचार गर्दा हिल्टन होटल जल्न गएको छ। यसले नेपालमा वैदेशिक लगानी निरुत्साहित हुन गै ठूलो क्षति हुन पुगेको छ,’ प्रतिवेदनमा उल्लेख छ।
यस्तै, एक विमान परिचारिकाले Himalayan Airlines को विमानमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दुबई भागेको दाबी गर्दै भ्रामक सूचना फैलाएको उल्लेख छ। उक्त दाबीलाई कम्पनीले औपचारिक विज्ञप्ति जारी गर्दै खण्डन गरेको थियो।
त्यसैगरी, गगन थापा लाई भीडले कुटपिट गरिरहेको भन्ने भिडियो तथा विष्णुप्रसाद पौडेल भीडबाट जोगिन नदीतर्फ भाग्दै गरेको दृश्य भनेर प्रचार गरिएका सामग्रीहरू पनि भ्रामक भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
आयोगले यस्ता गलत सूचनाले सार्वजनिक भ्रम, त्रास र सामाजिक अस्थिरता सिर्जना गर्न सक्ने भएकाले तथ्य पुष्टि बिना सूचना प्रसारण नगर्न सचेत गराएको छ।











