|
9,000 SHARES |
काठमाडौं । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होछार पर्व मनाउँदै छन्। ‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात् नयाँ भन्ने अर्थमा यसलाई शेर्पा समुदायको नयाँ वर्षका रूपमा लिइन्छ। पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परा मान्नेहरूले चन्द्रमासको गणनाअनुसार फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होछार मनाउँछन्।
पर्वका अवसरमा गाउँघर, टोलमा रहेका बाटोघाटो र पानीका मूलहरूको सरसफाइ गर्ने परम्परा छ। नौ प्रकारका अन्न मिसाएर बनाइने ‘गुथुक’ तथा विशेष परिकार ‘खाप्से’ र ‘डेशिल’ खाने चलन छ। परिवार, आफन्त र साथीभाइबीच शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गरिन्छ।
ल्होसारका अवसरमा स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले पर्वलाई अझ आकर्षक बनाउँछ। गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशीर्वाद लिने र सामूहिक रूपमा पूजा–प्रार्थना गर्ने परम्परा पनि रहिआएको छ।
नयाँ वर्षका रूपमा मनाइने यो पर्वले समाजमा नयाँ आशा, उमङ्ग र उत्साह भर्दै आपसी प्रेम, सद्भाव, भाइचारा र एकताको भावना सुदृढ बनाउने विश्वास गरिन्छ। परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सिर्जना गर्नु यस पर्वको प्रमुख सन्देश हो।










