हरि कार्कीको ह्याट्रिकमा एपिएफ सेमिफाइनलमा, रोयल थिम्पु कलेज ४–१ ले पराजित



9,000 SHARES

बिर्तामोड । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले कप्तान हरि कार्कीको शानदार ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। एकपक्षीय बनेको खेलमा एपिएफले सुरुदेखि नै भुटानी टोलीमाथि निरन्तर दबाब सिर्जना गरेको थियो।

खेलको छैटौँ मिनेटमै एपिएफले अग्रता लियो। स्ट्राइकर प्रदीप लामाले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको लङ रेञ्जर सट सिधै जालीमा छिराउँदै टोलीलाई प्रारम्भिक बढत दिलाए। त्यसपछि १८ औँ मिनेटमा दीपेश धिमालको पासलाई सदुपयोग गर्दै कप्तान हरि कार्कीले दोस्रो गोल थपे।

विज्ञापन

२२ औँ मिनेटमा समिराज थोकरको प्रहार गोलकिपर टासी नोर्बुबाट रिबाउन्स भएपछि कार्कीले पुनः बल जाली चुमाउँदै व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो गोल गरे। पहिलो हाफको सुरुवाती २२ मिनेटमै तीन गोल खाएपछि भुटान दबाबमा परेको थियो।

विज्ञापन

८३ औँ मिनेटमा पुनः रिबाउन्स बललाई सदुपयोग गर्दै कार्कीले आफ्नो ह्याट्रिक पूरा गरे। जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उनी हालसम्मका एक्ला खेलाडी बनेका छन्।

भुटानका लागि सान्त्वना गोल ७९ औँ मिनेटमा पेनाल्टीमार्फत सम्भव भयो। किन्जाङ तेन्जिङ शेर्पालाई डिबक्सभित्र दीपेश धिमालले फल गरेपछि पाएको पेनाल्टी अवसरलाई शेर्पाले गोलमा परिणत गरेका थिए।

एपिएफले खेलको तेस्रो मिनेटदेखि नै आक्रमण सुरु गरेको थियो। प्रारम्भिक चरणमै दीपेश धिमालको प्रहार भुटानी गोलकिपरले कठिन प्रयासमा बचाएका थिए भने १६ औँ मिनेटमा समिराज थोकरको प्रहार डिफेन्डरले गोललाइनबाट क्लियर गरेका थिए।

भुटानले २८ औँ मिनेटमा गोल अन्तर घटाउने अवसर पाए पनि सोनाम यासेले नजिकको अवसर सदुपयोग गर्न सकेनन्। ७८ औँ मिनेटमा जिग्मे सुल्ट्रिमको फ्रिकिक क्रसबारमा लागेर फर्किँदा भुटान पुनः दुर्भाग्यशाली बन्यो।

खेलको प्लेयर अफ द म्याच एपिएफका कप्तान तथा ह्याट्रिककर्ता हरि कार्की घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

अब बिहीबार हुने अन्तिम क्वार्टरफाइनल खेलमा मछिन्द्र एफसी र एन पेनाङ (मलेसिया)बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले दैनिक टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन प्रदान गर्दै आएको छ। पहिलो दिनदेखि फाइनलसम्म टिकट लिएका एकजना भाग्यशाली दर्शकले यामाहा स्कुटर प्राप्त गर्नेछन्।

प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल प्राप्त गर्नेछन् भने उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय