आज वसन्त पञ्चमी, सरस्वतीको पूजा–आराधना



9,000 SHARES

झापा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्त पञ्चमी) आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गरी मनाइँदैछ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि र सृजनशीलता बढ्ने धार्मिक विश्वास रहिआएको छ। यस अवसरमा देशभरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ।

विज्ञापन

आजकै दिन विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ। आज लेखपढ गर्न सिकाए राम्रो विद्या प्राप्त हुने विश्वास गरिन्छ।

विज्ञापन

चन्द्रमाजस्तो गोरो वर्ण, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, वागीश्वरी, बुद्धिदात्री, वरदायिनी, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता विभिन्न नामले पुकार्ने गर्छन्।

विद्या र सृजनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूले आफ्ना कला–साधनाका सामग्री—कलम, कापी, कुची, वाद्ययन्त्र आदिलाई सरस्वतीको प्रतीक मानेर पूजा गर्ने चलन छ। तान्त्रिकहरूले भने तन्त्रसिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्ने गर्दछन्।

आज सूर्य उत्तरायण हुने, दिन लम्बिँदै जाने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका कारण यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्ध ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा–उपासना गरे ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने धार्मिक विश्वास छ।

गान्धर्व पुराणमा वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुने उल्लेख गरिएको छ।

यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्यका लागि साइत हेर्नुपर्दैन भन्ने विश्वास रहे पनि यस वर्ष शुक्र अस्त भएकाले यस्ता शुभकार्य गरिँदैन।

आज बालबालिकालाई शिक्षा आरम्भ गराउनुका साथै नाक–कान छेडिदिने चलन पनि रहेको छ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत देशका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरहरूमा विशेषगरी विद्यार्थीहरूको घुइँचो लागेको छ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धिको विकास हुने धार्मिक विश्वास पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय