|
9,000 SHARES |
विर्तामोड । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको २०औँ स्थापना दिवस झापामा विविध सामाजिक तथा शैक्षिक कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ।
सोमबार गोलोक गोवर्धन गौशालाको सभाहलमा आयोजित कार्यक्रममा संस्कृत शिक्षा र पठन संस्कृतिको प्रवर्द्धनलाई केन्द्रमा राख्दै उल्लेखनीय योगदान गरिएको महासंघ झापाले जनाएको छ।
स्थापना दिवसको अवसरमा झापास्थित गोलोक गोवर्धन गौशालाका ३८ जना कर्मचारी तथा श्री सताक्षी गुरुकुलका ४५ जना विद्यार्थीलाई संस्कृतसम्बन्धी पुस्तक, स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको थियो। यस किसिमको सहयोगले संस्कृत शिक्षा र अनुशासनयुक्त जीवनशैली प्रवर्द्धनमा टेवा पुग्ने आयोजकहरूको विश्वास छ।
महासंघ झापाले यसअघि पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै आएको छ। १८औँ स्थापना दिवसमा झापा कारागारका बन्दीहरूको पठन संस्कृतिको विकासका लागि पुस्तक तथा खेलकुद सामग्री प्रदान गरिएको थियो भने १९औँ स्थापना दिवसमा फरक क्षमता भएका विद्यार्थीहरूलाई खाद्यान्न सामग्री वितरण गरिएको थियो।
निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आएको झापा शाखाको पहललाई महासंघको केन्द्रीय समितिले उच्च मूल्याङ्कन गर्दै आएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा केन्द्रीय पदेन उपाध्यक्ष जीवन नेपालले झापाले पठन संस्कृतिको विकासमा रचनात्मक र प्रभावकारी भूमिका निर्वाह गर्दै महासंघको गरिमा उच्च बनाएको बताए।
“झापा अन्य जिल्लाको तुलनामा संगठनको हितमा अग्रसर र उदाहरणीय रूपमा अघि बढिरहेको छ,” उनले भने।
केन्द्रीय सह–कोषाध्यक्ष रविन बरालले पुस्तक व्यवसायीहरू केवल व्यापारमा सीमित नभई समाजप्रति उत्तरदायी बन्दै गएको उल्लेख गरे। ज्ञान, शिक्षा र संस्कृतिको प्रवर्द्धनमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा महासंघ प्रतिबद्ध रहेको उनले बताए।
कार्यक्रमका विशिष्ट अतिथि गोलोक गोवर्धन गौशालाका संरक्षक तथा अध्यक्ष नन्दकिशोर भारद्वाजले संस्कृत विधाका विद्यार्थीलाई जीवनोपयोगी पुस्तक प्रदान गर्नु पुस्तक व्यवसायीहरूको प्रशंसनीय कार्य भएको बताए। उनले हिन्दु सनातन धर्मको संरक्षण र प्रवर्द्धनमा पुस्तक व्यवसायीहरूको भूमिका अतुलनीय रहेको उल्लेख गरे।
महासंघ झापाका अध्यक्ष विनोद सापकोटाको सभापतित्वमा तथा सचिव चन्द्रमणि घिमिरेको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमले शिक्षा, संस्कार र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउने झापाको प्रयासलाई थप सशक्त बनाएको सहभागीहरूको भनाइ छ।









