झापा इनर्जी लिमिटेड : १० मेगावाट सौर्य आयोजनाबाट एक वर्षमै ९ करोडभन्दा बढी आम्दानी



9,000 SHARES

बिर्तामोड। झापा इनर्जी लिमिटेड कम्पनीको सातौँ वार्षिक साधारणसभा बिर्तामोडमा सम्पन्न भएको छ। उर्जा उत्पादनमार्फत आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना गरिएको कम्पनीले १० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना सञ्चालन गर्दै आएको छ।

कम्पनीका अध्यक्ष लालप्रसाद साँवा लिम्बुको अध्यक्षतामा सम्पन्न सभामा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा आयोजनाबाट १ करोड २४ लाख ८५ हजार ६० युनिट विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरिएको छ। यसबाट कम्पनीले ९ करोड १० लाख ५९ हजार ४७५ रुपैयाँ आम्दानी गरेको छ।

विज्ञापन

त्यसैगरी चालु आर्थिक वर्षको २०८२ साउन १ देखि मंसिर मसान्तसम्म आयोजना मार्फत ६५ लाख २१ हजार २६० युनिट विद्युत उत्पादन भई ४ करोड ७० लाख ९३ हजार ४७९ रुपैयाँ आम्दानी भएको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ।

विज्ञापन

झापा इनर्जी लिमिटेडले झापाको शिवसताक्षी नगरपालिका–४, बुलुचोक क्षेत्रमा आयोजना निर्माण गरेको हो। आयोजनाका लागि कम्पनीले आफ्नै नाममा रहेको १० बिघा १७ कठ्ठा १८.५ धुर तथा पूर्ण स्वामित्व रहेको झापा एग्रो इन्डस्ट्रिज प्रालिको नाममा रहेको १० बिघा ११ कठ्ठा १३ धुर गरी जम्मा २१ बिघा ११ कठ्ठा ९.५ धुर जग्गा खरिद गरेको जनाएको छ।

कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच २०७८ मंसिर १२ गते विद्युत खरिद–बिक्री सम्झौता भएको थियो। आयोजनाबाट उत्पादित विद्युत २०८० माघ १० गतेदेखि व्यवसायिक रूपमा उत्पादन भई बिक्री हुँदै आएको छ। उत्पादित विद्युत ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत दमक वितरण केन्द्र अन्तर्गत बुलुचोक सब–स्टेसन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको प्रवन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए।

पूँजी संरचनातर्फ कम्पनीले पहिलो चरणमा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गरेको थियो। जसअन्तर्गत ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित स्थानीयलाई, ५७ हजार २९ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ११ हजार ४०६ कित्ता कम्पनीका कर्मचारीलाई, बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको हो।

सभामा कम्पनीकी सञ्चालक तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईंले स्वागत मन्तव्य राखेकी थिइन् भने राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा सञ्चालक समिति सदस्य, शेयरधनी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय