१३औँ राष्ट्रिय पोल्ट्री दिवस : झापाका विद्यालय र अस्पतालमा अण्डा बितरण, किसानको अवस्था भने चिन्ताजनक



9,000 SHARES

झापा । १३औँ राष्ट्रिय पोल्ट्री दिवस बिहीबार झापामा पोषण प्रवर्द्धन, जनचेतना र किसान–विद्यालय सहकार्यका विविध कार्यक्रमसहित उत्साहपूर्वक मनाइएको छ।

दिवसको अवसरमा जिल्लाका कुखुरा पालक किसानहरूले सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी र अस्पतालमा उपचाररत बिरामीलाई प्रोटिनयुक्त अण्डाको खाजा खुवाउँदै अण्डाको पोषणीय महत्वबारे सन्देश प्रवाह गरेका छन्।

विज्ञापन

शिवसताक्षी नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा किसान स्वयं पुगेर विद्यार्थीलाई अण्डाको खाजा खुवाइएको हो। यसैगरी भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा उपचाररत बिरामीलाई उसिनेको अण्डा वितरण गरिएको छ।

विज्ञापन

नेपाल लेयर्स कुखुरा पालक सङ्घ जिल्ला शाखा झापाका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा कुखुराजन्य वस्तुको कारोबार गर्ने किसानहरू विद्यालय–विद्यालयमा पुगेर खाजा वितरण कार्यक्रममा सहभागी भएका थिए। शिवसताक्षीस्थित भगवती माध्यमिक विद्यालय, चेतना माध्यमिक विद्यालय र हाम्रो मन्टेस्वरीमा करिब दुई हजार बालबालिकालाई अण्डाको खाजा खुवाइएको थियो।

कार्यक्रममा नेपाल लेयर्स कुखुरा पालक सङ्घका केन्द्रीय उपसचिव विवेक निरौलाले अण्डा सस्तो, सुलभ र उच्च गुणस्तरको प्रोटिन स्रोत भएकाले यसको नियमित सेवन मानवको मानसिक तथा शारीरिक विकासका लागि अपरिहार्य रहेको बताए।

उनले विकसित र विकासोन्मुख देशबीच पोषणस्तरमा देखिने भिन्नताको एउटा प्रमुख कारण आहारमा कुखुराको मासु र अण्डाको प्रयोग रहेको उल्लेख गर्दै भने, “घर, विद्यालय र होटल—हरेक भान्सा कोठामा अण्डा अनिवार्य हुनुपर्छ। राज्यले पनि प्रोटिनयुक्त खाद्यवस्तुमा अण्डालाई प्राथमिकतामा राख्नुपर्छ।”

निरौलाले कुखुरा पालक किसानलाई हौसला दिन बैंकिङ कारोबारमा सहुलियत दरको ब्याज, कर्जामा सहज पहुँच र बजार सुनिश्चितता आवश्यक रहेको धारणा राखे। कुखुरा तथा कुखुराजन्य वस्तुको कारोबारलाई दिगो बनाउन सके अर्थतन्त्रमा ठूलो योगदान पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय सदस्य सुबोध निरौला, नेपाल लेयर्स कुखुरा पालक सङ्घ झापाका उपाध्यक्ष पवन कटवाल, भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश कुमार दाहाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रहाङ लिङ्देन तथा चेतना माध्यमिक विद्यालय सञ्चालन समिति अध्यक्ष गोविन्द बहादुर बस्नेतले अण्डाको पोषणीय महत्वबारे धारणा राखेका थिए।

चेतना माविका अध्यक्ष बस्नेतले विद्यालयभित्र जंक फुड निषेध गरिएको र अबदेखि हप्तामा कम्तीमा दुई पटक अण्डाको खाजा खुवाइने प्रतिबद्धता जनाए।

तर, राष्ट्रिय पोल्ट्री दिवसको उत्साहपूर्ण वातावरणसँगै झापामा कुखुराजन्य वस्तुको कारोबार गर्ने किसानको वास्तविक अवस्था भने चिन्ताजनक देखिएको छ। किसानहरूका अनुसार राज्यको उदासीनता, उत्पादन लागत वृद्धि र नीतिगत असहयोगका कारण यस व्यवसायबाट किसान पलायन हुन थालेका छन्।

चार वर्षअघि झापामा १३५ जना कुखुरा पालक किसान सक्रिय रहेकामा हाल घटेर ४२ जनामा सीमित भएका छन्। त्यसैगरी दैनिक करिब २५ सय कार्टुन अण्डा उत्पादन हुने झापामा हाल उत्पादन घटेर बढीमा ७ सय कार्टुनमा झरेको किसानहरूले बताएका छन्।

बाहिरबाट आउने कच्चा पदार्थमा लाग्ने भन्सार, बढ्दो उत्पादन लागत र बजार व्यवस्थापन चुनौतीपूर्ण बनेको उनीहरूको गुनासो छ। कृषिजन्य वस्तुमा सरकारले दिने सहुलियत अझ फराकिलो बनाउनुपर्ने माग किसानहरूको छ।

पोषणको दृष्टिले विश्व स्वास्थ्य संगठन र विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले कुखुराको मासु र अण्डालाई ‘सुपर फुड’का रूपमा व्याख्या गरेका छन्। एक अण्डामा उच्च गुणस्तरको प्रोटिन, भिटामिन ए, डी, बी–१२, फोलिक एसिड, आइरन र जिंक पाइने विज्ञहरूको भनाइ छ।

पोल्ट्री विशेषज्ञ डा. दिनेश गौतमका अनुसार बालबालिका, गर्भवती महिला र वृद्धवृद्धाका लागि अण्डा अत्यन्त लाभदायक खाद्यवस्तु हो। उनका अनुसार एउटा अण्डामा करिब ६ ग्राम प्रोटिन हुन्छ भने १ किलोग्राम कुखुराको मासुमा २५ देखि ३० ग्रामसम्म प्रोटिनसहित आवश्यक भिटामिन र खनिज तत्त्व पाइन्छ।

भ्याली एग्रो फिड प्रालिका सञ्चालक घनश्याम निरौलाले राष्ट्रिय पोल्ट्री दिवस केवल उत्सवमा सीमित नराखी किसान संरक्षण, उत्पादन वृद्धि र आम नागरिकको पोषणस्तर सुधारतर्फ केन्द्रित हुनुपर्ने बताए।

उनले भने, “अण्डाको खाजा खुवाउँदै मनाइएको दिवसले पोषण सन्देश त दिएको छ, तर किसानको भविष्य सुरक्षित गर्न राज्यको ठोस नीति र व्यवहारिक सहयोग अपरिहार्य देखिएको छ।”

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय