|
9,000 SHARES |
अर्जुनधारा । झापाको बिर्तामोड नगरपालिका–५ मा कार्यालय रहेको निरन्तर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाले अर्जुनधारा नगरपालिकास्थित सालबारी झिल पर्यटकीय क्षेत्रमा बनभोजसहित १२औँ वार्षिक साधारणसभा आयोजना गरेको हो।
साधारणसभामा संस्थाका अध्यक्ष भीष्मप्रसाद दाहालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनअनुसार २०७० भदौ १४ गते स्थापना भएको संस्थाले गत आर्थिक वर्ष २०८१/८२ सम्ममा १ हजार ३५५ जना शेयर सदस्य बनाइसकेको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा शेयर सदस्य संख्या १ हजार ५०० पुर्याउने लक्ष्य लिइएको छ।
संस्थाले गत आर्थिक वर्ष २०८१/८२ मा ७७ लाख ५०० रुपैयाँ रहेको शेयर पुँजी चालु आर्थिक वर्षमा बढाएर ९५ लाख रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ। त्यस्तै, गत आर्थिक वर्षमा २० लाख ३७ हजार २ सय ८३ रुपैयाँ रहेको बचत कोषलाई बढाएर चालु आर्थिक वर्षमा २२ लाख रुपैयाँ पुर्याउने लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी, गत आर्थिक वर्ष २०८१/८२ मा २ करोड ४२ लाख २६ हजार २ सय ८३ रुपैयाँ रहेको निक्षेप चालु आर्थिक वर्षमा २ करोड ५५ लाख रुपैयाँ पुर्याउने, ३ करोड १० लाख ५० हजार ५ सय रुपैयाँ रहेको कर्जा लगानी ३ करोड ७५ लाख रुपैयाँ पुर्याउने लक्ष्य संस्थाले लिएको छ।

गत आर्थिक वर्षमा ११ लाख ५२ हजार २२ रुपैयाँ नाफा कमाएको संस्थाले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य बनाएको अध्यक्ष दाहालले जानकारी दिए।
साधारणसभामा अध्यक्ष दाहालले संस्था तथा शेयर सदस्यहरूको हितमा केन्द्रित नीति तथा कार्यक्रमहरू पनि प्रस्तुत गरेका थिए।
सभामा लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक सुवास मैनालीले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।

साधारणसभाको अवसरमा उत्कृष्ट शेयर सदस्यका रूपमा मोहनप्रसाद रिमाल, उत्कृष्ट बचतकर्ताका रूपमा पद्मा खनाल, उत्कृष्ट ऋणीका रूपमा रोशन नेपाली तथा उत्कृष्ट कर्मचारीका रूपमा दिलकुमारी ढकाललाई सम्मान गरिएको थियो।
संस्थाकी सञ्चालक समिति सदस्य रीता मिश्रले स्वागत मन्तव्य राखेको सभाको सञ्चालन संस्थाका सचिव हरि आचार्यले गरेका थिए। कार्यक्रममा सम्मानितहरूको तर्फबाट मोहनप्रसाद रिमाल, संस्थाका निवर्तमान उपाध्यक्ष कुमार सिटौला तथा लेखा समितिका निवर्तमान अध्यक्ष ध्रुव गौतमले मन्तव्य राखेका थिए।









