|
9,000 SHARES |
बिर्तामोड। बिर्तामोडमा सम्पन्न छैटौँ वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० ले हात पारेको छ।
नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा वडा नं. १० ले वडा नं. ३ लाई गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै वडा नं. १० ले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता वडा नं. ३ ले नगद ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।
फाइनल खेलमा वडा नं. १० का तर्फबाट सुजन लिम्बु र घनश्याम कार्कीले गोल गरे भने वडा नं. ३ का सञ्जय हस्दाले एकमात्र सान्त्वना गोल गरेका थिए।
फाइनल खेलका प्लेयर अफ द म्याच आरके कन्दङवा घोषित भए। उनले नगद एक हजार पाँच सय रुपैयाँ पुरस्कार पाए।
प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट वडा नं. १० का सौरभ लिम्बु बने। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
यसैगरी, उत्कृष्ट गोलकिपर वाल्मीकि राई, उत्कृष्ट मिडफिल्डर उत्सव राई, उत्कृष्ट स्ट्राइकर आशिष चापागाईं, उत्कृष्ट डिफेन्स खेसेहाङ लिम्बू र उत्कृष्ट प्रशिक्षक सुरेन तुम्रोक घोषित भए। उनीहरू सबैले जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मन्त्री एकराज कार्की, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, राष्ट्रियसभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, वडाध्यक्षहरू मदन बुढाथोकी, अविरल कृष्ण खरेल, सूर्य कन्दङवा, दुर्योधन गुरुङलगायतको उपस्थिति रहेको थियो।
पुस ४ गतेदेखि सुरु भएको प्रतियोगितामा नगरका ९ वटा वडाका खेलाडीहरूको सहभागिता रहेको नगर खेलकुद विकास समितिका सचिव विसन लिम्बुले जानकारी दिए। समितिले हरेक वर्ष क्यालेन्डरअनुसार वडा स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष विकास गिरीले बताए।
भेट्रान्स फुटबलको उपाधि पनि वडा नं. १० ले जित्यो
यसैबीच, नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न दोस्रो वडा स्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगिताको उपाधि पनि वडा नं. १० ले हात पारेको छ।
सहिद नेत्र पार्कको खेलमैदानमा आइतबार सम्पन्न फाइनल खेलमा वडा नं. १० ले वडा नं. ५ लाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो। वडा नं. १० का लागि महेश राईले दुई तथा दिलेन लोक्तामले एक गोल गरेका थिए।
उपाधिसँगै वडा नं. १० ले नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं. ५ ले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
फाइनल खेलका प्लेयर अफ द म्याच महेश राई घोषित भए। उनले नगद एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा नगरका आठ वटा टिमको सहभागिता रहेको थियो। पुस ४ गतेदेखि सुरु भएको प्रतियोगिता आइतबारको फाइनल खेलसँगै समापन भएको खेलकुद समितिका सदस्य विशाल अग्रवालले जानकारी दिए।









