|
9,000 SHARES |
इटहरी । किराँत राई समुदायको संस्कार र परम्परामा आधारित चलचित्र ‘नाक्छोङ’को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार इटहरीस्थित इलाइट सिनेमा हलमा ट्रेलर सार्वजनिक भएसँगै चलचित्रको भिडियो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत पनि उपलब्ध गराइएको छ।
किराँत राई समुदायमा शुभ–अशुभ कार्यका क्रममा नाक्छोङ (बिजुवा) अनिवार्य मानिन्छ। यही पात्रलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘नाक्छोङ’को ट्रेलरमा संस्कार, समयको दबाब र पारिवारिक द्वन्द्वलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ।
ट्रेलरअनुसार नायकका बाबुको असामयिक निधनपछि परिवारले छिटो अन्त्येष्टि गर्नुपर्ने बाध्यता भोग्छ। छोरा बाबुको इच्छाअनुसार आफ्नै कुलका नाक्छोङ ल्याएर संस्कार गर्न चाहन्छ भने समय अभावका कारण आफन्तहरूले फरक थरका नाक्छोङबाट भए पनि संस्कार सम्पन्न गर्नुपर्ने दबाब दिन्छन्। यही द्वन्द्व र कुलका नाक्छोङको खोजीमा गरिएको संघर्ष कथाको मूल आधार हो।
चलचित्रको लेखन तथा निर्देशन किरण राईले गरेका हुन् भने निर्माता ज्योतिराज राई हुन्। यसअघि बेलायतका विभिन्न सहरमा प्रदर्शन भइसकेको ‘नाक्छोङ’ले त्यहाँका गोर्खाली दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षको भनाइ छ।
ट्रेलरमा प्रदर्शन मिति खुलाइएको छैन। यद्यपि छिट्टै नेपाली दर्शकमाझ चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको निर्माता ज्योतिराज राईले जानकारी दिएका छन्। उनका अनुसार चलचित्रले समाजमा लोप हुँदै गइरहेका कुल मान्यता, पितृ पूजा, आत्मिक अनुशासन र मौलिक संस्कारप्रति पुनःचेतना जगाउने उद्देश्य राखेको छ।
निर्देशक किरण राईले चलचित्र आफ्नै जीवन भोगाइबाट प्रेरित भएको बताए। बुवाको निधनपछि नाक्छोङ खोज्दा भोग्नुपरेको संघर्ष र रीतिरिवाजमा आएको परिवर्तनका कारण नाक्छोङ लोप हुँदै गएको अनुभूतिले कथा भन्न बाध्य बनाएको उनको भनाइ छ।
चलचित्रमा भुवन सिंह राई मुख्य भूमिकामा छन्। साथै यासेली योङ्हाङ, सागर केरुङ, बबिन राई, शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पूर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय सुब्बा कुरुङबाङ, विनोद पोमो, तुलशा लिम्बु, मदन खोदुङ राई, ससिता राई, रसा लिम्बु, मीसन बान्तावा राई र बाल कलाकार जेशन राईको अभिनय रहेको छ।
ट्रेलर हेर्नुहोस् :










