भद्रपुरकी बबिताको भारतमा हत्या, ८ दिनपछि खुल्यो पहिचान

झापा । झापा भद्रपुरकी एक महिलाको भारतमा हत्या भएको छ । भद्रपुर नगरपालिका–६ तेलिभिट्टा निवासी ३२ वर्षीया बबिता राजवंशीको हत्या भएको हो ।

उनको शव भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला खोरीबारी थाना अन्तरगतको बिन्नागुरी ग्राम पञ्चायत हारिभिट्टा नजिकैको केरा बगानमा फेला परेको थियो । उनको शव कुहिएको अवस्थामा खोरीबारी पुलिसले फेला पारेको थियो । अनुहार किराले खाइसकेकोले पहिचान समेत नखुलेको उनको शव केराको पत्ताले छोपिएको थियो ।

केरा बगानमा शव गन्हाएपछि स्थानीयले देखेर त्यहाँका प्रहरीलाई खबर गरेका थिए । घटना असोज २ गतेको हो । घटनास्थल नेपाल–भारत सीमा नाका भद्रपुरदेखि करिब दुई किलोमिटर पूर्व उत्तर पर्छ । खोराबारी पुलिसले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि उत्तरबंग मेडिकल कलेज पठाएका थिए ।


शव पहिचान नखुलेको अवस्थामा घटना भएको ५ दिनपछि ती महिला भद्रपुरकी रहेको भनी खुलेको छ । मृतक बबिता सागसब्जी बिक्री गर्थिन । बबिता भदौ ३० गते सीमावर्ती भारतीय बजार सागसब्जी लिन गएको उनका जेठाजु जितेन राजवंशीले बताए । बबिता केही दिन देखि हराइरहेको अवस्थामा एक महिलाको शव बोर्डर पारी भारतमा फेला परेको खबर सुनेर उनका परिवारजन तत्काल भारतीय प्रहरीसँग समन्वय गरेका थिए ।

परिवारजनले उनले लगाएको कपडाको आधारमा शवको पहिचान गरेका थिए । ‘बबितालाई हत्या गरी केरा बगान लगी शव लुकाएर राखेको हुनुपर्छ,’ उनका जेठाजु जितेनले भने । घटना शङ्कास्पद भएकोले खोरीबारी पुलिस थानामा गएर चार जनाको नाममा किटानी जाहेरी दिएको उनको भनाई छ । चारै जना भारतीय नागरिक हुन । प्रतिमा बानिक, बालचन्द्र बानिक, दधिराम बर्मन र सहदेव बानिक रहेको उनले बताए । उनीहरूको बबितासँग आर्थिक लेनदेन थियो । नेपाल प्रहरीसँग समन्वय गरी बबिताको शव सोमबार दिउँसो साढे ३ बजे घर ल्याएर दाहसंस्कार गरिएको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
62
सम्बन्धित

लोकप्रिय

लोकप्रिय