साम्बालाको सौन्दर्य -मुनाराज शेर्मा ।

मुनाराज शेर्मा ।
मीन भाम निर्देशित सामबाला बौद्ध दर्शनमा आधारित आदिवासी कथामा निर्मित नेपाली सिनेमा हो भन्न सकिन्छ । हिनयान थेरवाद दर्शनमा व्यक्ती स्वयमले एकल रुपमा मुक्तिको प्रयास गर्नु भन्ने बुझिन्छ । टासी व्यापारको सिलसिलामा ल्हासा गएपछि परिवारमा लागेको दागको पिरले सदाको लागि परिवार त्याग्छ । मुक्ती चाहन्छ । तर महायान बौद्ध दर्शनमा करुणाको ठूलो भुमिका हुन्छ । ब्रह्माण्डको सम्पूर्ण चराचर जगतसँग एकाकार भएर जीवनको मुक्ती खोज्नु महायानको अभिष्ट हुन्छ । त्यसकारण पेमा र कर्माले जीवनलाई सजिलोसँग जिउन प्रयास गरे । रिम्पोछेले जन्मिने सन्तानको रक्षा करुणाले मात्र पूरा हुन्छ। भन्तेको सत्कर्म गुम्बामा बसेर गुरु र भगवानको स्याहार र भक्ती गर्नु मात्र नभै सांसारिक जीवन जिउँने परिवारको रक्षा गर्नु सुरक्षा दिने जिम्मेवारीबाट मात्र बौद्ध दर्शनको अभिष्ट पुरा हुने सन्देश छ । जन्म महान कुरा हो कसको जन्म भन्दा पनि । संसार आफन्तिबाट घेरिए पनि बाँच्न अन्त्यमा एकल प्रयत्न जरुरी छ । हार्न आवस्यक छैन । हरेकलाई निन्दा भन्दा परबाट जन्मने अधिकार छ ।

आमा नै महान छिन जसले हरेक निन्दा हन्डरको बीचबाट पृथ्वीलाई सुन्दर बनाउँछिन। सिनेमाले तिब्बती महायानको पुनर्जन्मको दार्शनिक पक्षलाई प्रस्तुत गरेको छ । यो सुपरनेचरल पराभौतिकी हो। जो सयौं वर्षदेखि परम्परित भएर बाँचेको छ । संसार चल्न विज्ञान मात्र काफी छैन । अरु तत्वले समेत यो लोक कब्जामा राखेको छ जो रहस्यपूर्ण छ ।

तिब्बती बज्रयानी सम्प्रदायबाट नै महायान निर्माण भयो । हिमाली शेर्पा लामा आदि समुदायले प्रत्येक घरबाट एकजना भिक्षुको लागि छोरा दान गर्छन । भिक्षु भन्तेको जीवन दर्शन गुम्बामा जीवन समर्पण गरेर जिउँनु हो।आवस्यक पर्दा गृहस्तिमा फर्कनु विकल्प हो । त्यही कारणबाट बाध्य भएर गृहस्तिमा फर्कन्छ कर्मा । तर यो बाध्यकारी जीवन सजिलो हुन्न । तथापि पेमाको अस्वीकार्य बिचको बिस्तारै हुर्कदै गएको आकर्षणले तान्दै लान्छ । यो दुई आत्माको मिलन गराउँने प्रयासमा सङ्गीतको भाषा महान छ । तर फुल अर्पण गर्न आगावै कर्मा हतार नगर फक्रन देउ भनेबाट यो पूर्णता हुन रोकिन्छ । जो राम सरको प्रवेशले बोकेर आएको रिम्पोछेको मृत्युको खबरले समाप्त हुन्छ ।


सङ्गीतको जादुको बिम्ब भयङकर जादुमय छ । टासी र पेमाको प्रेमको गहिराई सङ्गीतले गर्यो । भन्ते कर्मा र पेमाको असम्भव मिलन पनि कर्माको टुङ्नाको सङ्गीतले जोडेको हो ।

कथामा राम सरको आगमन । हिमाली लामा परिवारको जीवनमा राम सरको टिउसन शिक्षकको रुपमा प्रवेश भयानक अशिष्ट छ । पेमाले विद्यालयको होस्टेलमा चौठिमा तिनपाने रक्सी लगेर दावालाई पढाइ दिन आग्रह गर्छिन । राम सर घरमै पढाईको साथै खानपिनमा मस्त हुन्छ । ज्यादा डोजले अचेत रामलाई घोडामा लादेर छाद्दै घर पुर्याएको हल्ला फैलिन्छ । त्यो घटनाले पेमा र टासिको प्रेम जीवन टुङ्गिन्छ । राम नाम नै काफी छ एउटा सुन्दर संसार भत्काउन । अन्त्यतिर राम काठमाडौ फर्किन्छ जब समस्या जटिल भैसकेको हुन्छ । शान्त समाज नभत्काउ आफ्नै पनमा छोडिदेउ सिनेमा साउती गर्छ ।

बुद्धको जीवन पुनर्जीवनमा आधारित छ भन्छ तिब्बती महायान बौद्ध दर्शन। हिन्दुले बुद्ध र राम विष्णुको अवतार भन्छ । त्यसैले मीन भामले राम सर पेमाको जीवनमा प्रक्षेपण गरे । सिनेमा भरी पेटको बच्चालाई दुई अर्थमा बोकियो । गाउँले र टासिले रामको अवैध सन्तान भने । त्यसैले टासिले गर्भपतन गराउन जोड गर्यो । रिम्पोछे र कर्माले जन्म महान हो निन्दा मिथ्या छ यो रिम्पोछेको पुनर्जन्म हो भने ।

पेमाले त्यो रहस्यमय तत्व मात्र टासिलाई बताउने प्रतिज्ञा गरिन । समुदायको व्यभिचारको आक्षेपलाई साँस्कृतिक कानुनमा टुङ्ग्याउन तारो हान्ने चुनौती दिइन र समाज सँगै टासी हार्यो । बच्चालाई जन्माएर देह त्यागिन।स्वर्गमा रिम्पोछेसित मिलन भयो । बच्चा टासिको थियो। टासिको चित्त ईर्ष्या घृणा जलनले भरिएकोले स्वर्ग जाने मार्गमा अनुहार लुकाएर बसेको थियो।

ढोकामा झुन्डिने दोचाको बिम्बले त्यो घरमा शान्ति समुन्नति छ । बैबाहिक जीवन सुखमय छ । बहुपति प्रथामा दोचाधारीको पत्निमाथि हैकम छ बुझिन्छ । ल्हासा क्याराभान जाँदा छिमेकिले पोल लाएर टासिको मन भाँचिई नफर्केपछि कान्छा दावाले ढोकामा आफ्नो दोचा झुन्ड्यायो । पेमालाई म अब यो घरको मुलि हो रक्सी ल्याउ भनेर आदेश गर्यो । पेमाले थर्काएर भताभुङ बनायो ।

बिहेको दिन पेमालाई तिम्रो तीन पतिहरु भनिएको र आमाले कानमा तरैपनि एउटा मात्र विशेष हुन्छ भनिएको थियो। टासी पेमाको खास पति थियो प्रेम उसैसित गर्थी । हृदय टासी सितनै थियो । शारिरिक आवस्यकता र हृदयको प्रेम नितान्त फरक हो भनेको छ सिनेमाले । महिला अरुले सोचेजस्तो नहुने निर्क्योल पेश गरेको छ ।

हिमाली डोल्पो लामा शेर्पा जातिको बहुपति प्रथाको फेहरिस्त पूर्वको ताप्लेजुङ देखि मनाङ मुस्ताङ पश्चिम डोल्पा हुम्ला सम्म १७ पुस्ता ज्यादा परम्परित भएको संस्कृती हो । यो आफ्नो सम्पति पशुपालन व्यापार पारिवारिक एकता जोगाउन कैयौं शताब्दी सम्म टिकेको प्रथा हो । तर हाल आएर यो सिनेमाको जस्तो छैन ।

सिनेमाले बहुपति प्रथामा नारीको स्विकारोक्ति छ भन्ने दृश्य खिच्छ । तीन पतिसित बिहे गर्ने कुरामा पेमाको हँसमुख सहज अवस्थाले तेस्तो बिम्ब प्रतिबिम्बित गर्छ । तथापि वर्तमानमा नारी अधिकार स्वतन्त्रता शिक्षा आदि कारणले सिनेमाको जस्तो समाज सजिलै पाइदैन । होला कसैलाई मन देखिनै यो इच्छा नहुने होइन ।

साम्बालाले हिमाली भेगको खास जातिगत जीवन शैली र प्राकृतिक सौन्दर्यको उत्खनन बृहत्तर गर्ने अर्को जमर्को गरेको छ । वर्तमानमा यो अघि उजागर नगरिएको मुलधारबाट लुप्त बनाइएको समाज संस्कार संस्कृति आख्यान प्रथा चालचलन सीप कला लोकनाच लोकसंस्कृति बाजा पहिरन दक्षता भुगोल आदिलाई यो सत्तरीको उत्तरार्ध असीको पूर्वाध दशकमा नेपाली सिनेमाले जोड गरिरहेको छ । जारी, गाउँ आएको बाटो, घरज्वाईँ त्यसैको प्रयास हो। नेपाली भाषाको सिनेमा कि नेपाली सिनेमा? को प्रसव पीडामा छ नेपाली सिनेमा ।

साम्बलाले भन्न खोजेको नेपाली सिनेमा त्यै बाटोमा छ। बहुभाषिक बहुजातीय बहुसांस्कृतिक बहुधार्मिक नेपालको नेपाली सिनेमाको लम्बेतान गोरेटो हिड्ने प्रयासमा साम्बाला सफल भएको छ।  फिल्मले कसरी उत्तरी सिमानाको मानिसहरुको जिन्दगी पशुपालन तिब्बतसँगको व्यापार गर्दै जिन्दगीको कथा बुन्छ भन्ने एउटा रोमाञ्चक सन्कसनिपूर्ण कथा भन्छ ।

चौरी याक भेडा च्याङ्ग्रा पाल्नु हिमालको फेदमा सिरेटोसँग जीवन बिताउनु । हेमान याक जोत्नु कति अद्भुत दृश्यले दर्शकको मन चलायमान हुन्छ । चौरिको क्याराभान लावालस्कर लिएर पठारै पठार हिउँको ओछ्यानमाथि तिब्बत पुग्नु अग्लो पास भञ्ज्याङ मुस्किलले छिचोल्नु कम जोखिम र रोमान्चक छैन। आफ्नो मान्छे हराएपछि एक्लै नाम्खा घोडा लिएर दोजिया पेमाले कसरी यात्रा गरिन । सहरिया नारीहरुले सोच्न पनि नसक्ने सहास भन्छ सामबालाले । घोडा चोरी भएर भएको झगडामा भन्ते कर्माले द्वन्द्व समाधान गर्न आफ्नै घोडा फिर्ता गर्न उल्टै पैसा तिर्छ । छोरिको मृत्युमा सदगत गर्ने लामा नपाउदा पश्चतापले पैसा फर्काउदै माफी माग्छ । जिन्दगीमा परिबन्दले कसरी मानिसलाई मान्छे बनाउछ।दया कति महान कुरा हो । हामी एउटै होमोसेपियन्सको सन्तानहरु आफ्नो पृथक भुगोल संस्कारले फरक छौँ । त्यो रिवाज हामिले बाँचेको समय र स्थानले निर्मित छ तेसोर विविधता छ । फरक भएकै कारणले अचम्मित छ । त्यो अद्भुत सत्यले यो पृथ्वी जिउन सजिलो बनाएको छ । नत्र मान्छे दिक्क भएर आत्महत्या गरिसक्थे होलान । यसको सम्मान गरौं ।

सिनेमाको अर्को शक्ति भनेको पात्रको मात्री भाषा लवज भेषभुषा चलन आचरण भुगोल पनि हो। पेमाको भाषिक क्षमताले भुमिकामा न्याय गरेको छ । पानी नपाइने भेगमा खुट्टा छोएको हात टकटकाएर औंलाले घुमाउदै खाना खानु सिनेमाको सबल पक्ष हो । तेस्तै यो सिनेमा पूर्ण सांस्कृतिक बन्न राजनीतिबाट सम्पूर्ण रूपमा अलग गरेर प्रस्तुत गरिएको छ । मात्र सांस्कृतिक आदिवासी कानुन हाबी छ ।

सिनेमाले भन्न नसकेको कथा पनि छ । यो मोबाइल इन्टरनेट अघिको चालिसको दशकको कथा हो । फोटो बोकेर हिड्ने रिलको समय । तर राम सर फेदर ज्याकेट लाएर सिनेमा भरी छ । फेदर चुज पेन्ट सत्तरी उत्तरको कुरा हो । ओभरकोट बेगि पेन्ट हो त्यो बेला । बहुपति प्रथाको अस्वीकार गर्दै एकल बिबाह गर्ने बिद्रोहिको कथा छैन सामबालामा । कारण सामबालाले अस्वीकार्य गर्ने बिद्रोहिको कथा भनेको होइन । यो त्यो बहुप्रति प्रथाको सांस्कृतिक कथा हो ।

नाम्खा घोडालाई हिमाली ब्वाँसोले मारेको पार्स्व कथा मात्र छ । ब्वाँसोको सिकार सिनेमाले खिच्न नसक्ने र आवस्यक पनि ठानेन । कठिन भन्ज्याङ छिचोलेर ल्हासा पुगेको सानो क्लिप्स कठिन र अनावश्यक भएर नराखेको होला । साम्बालाले हिमाली जीवनमा बौद्ध दर्शन भित्र सपना पुनर्जीवन स्वर्ग नर्क बीचको बहुपति र प्रेमिसमेत पेमा जस्तो नारिले कसरी भोगेर आधा शताब्दी ज्यादा बाँचेर आएको छ । यस्तो अद्भुत कथा विश्वलाई समर्पण गरेको छ ।

मीन भामलाई साधुवाद !
अलिक अघिबाट कविता आख्यानले काँध हाल्यो र भर्खरै हो नाटक सिनेमाले आदिवासी सौदर्यको भरमार बाढी बोकेर हिडिरहेको समय ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
114
सम्बन्धित

लोकप्रिय

लोकप्रिय