संस्कृत पढेर आणविक बम निर्माणमा मुख्य भूमिका निभाउने बैज्ञानिक ओपनहेइमर

विर्तामोड । जे रोबर्ट ओपनहेइमरलाई ‘आणविक बमका पिता’ भनेर चिनिन्छ । दोस्रो विश्वयुद्धको समयमा पहिलो आणविक अस्त्र बनाउन उनले खेलेको भूमिकाका कारण उनलाई यो सम्मान दिइएको हो ।

सन् १९४५ को अगष्टमा जापानको हिरोसिमा सहरमा २ लाख जनाको ज्यान लिएको बम बनाउने गोप्य परियोजनाको उनी निर्देशक थिए । २३ वर्षकै उमेरमा उनले भौतिकशास्त्रमा विद्यावारिधि गरे । त्यसपछि उनले क्यालिफोर्निया इन्ष्टिच्यूट अफ टेक्नोलोजी र क्यालिफोर्निया विश्वविद्यालयमा भौतिकशास्त्र पढाउन थाले ।

व्यवस्थापनमा उनको खासै अनुभव छैन भन्ने थाहा पाउँदापाउँदै पनि सन् १९४२ मा अमेरिकी सेनाका जनरल लेस्ली ग्रुभ्स जुनियरले उनलाई म्यानह्याटन परियोजनाको नेतृत्व गर्न प्रस्ताव गरे । लेस्लीको अनुरोधलाई उनले स्वीकार गरे । दोस्रो विश्वयुद्ध सकिएपछि ओपनहेइमरले अमेरिकी आणविक ऊर्जा आयोगको निर्देशकको रूपमा काम गरे । आणविक हतियारको प्रयोगलाई बढी निगरानी गर्नुपर्ने तर्क गर्दै उनले हाइड्रोजन बम निर्माणको विरोध गरे । तर उनले यसको ठुलो मूल्य चुकाउनु पर्‍यो । आजको यस लेखमा हामी उनै ओपनहेइमरबारे केही रोचक तथ्यबारे चर्चा गर्दैछौँ ।oppenheimer-2


  • संस्कृत पढेका थिए

ओपनहेइमरका अधिकांश चर्चित वाणी सन् १९६५ मा उनीमाथि बनेको डकुमेन्ट्री ‘द डिसिजन टू ड्रप द बम्ब’बाट आएका हुन् । उनलाई संस्कृतमा विशेष रुचि थियो बर्कलेमा पढ्दा उनले संस्कृत भाषा सिकेका थिए । उनले संस्कृतमै भागवत गीता पनि पढेका थिए । सन् १९६५ को डकुमेन्ट्रीमा उनले अंग्रेजीमा भागवत गीतालाई उद्धृत गरेका छन् ।
यो पनि
विश्व आणविक परीक्षणविरुद्धको दिवस : यस्ता छन् विगतमा भएका ठुला आणविक विस्फोट
विश्व आणविक परीक्षणविरुद्धको दिवस : यस्ता छन् विगतमा भएका ठुला आणविक विस्फोट

  • न्यू मेक्सिकोसँगको प्रेम

सन् १९४२ मा म्यानह्याटन परियोजनको गोप्य प्रयोगशालाको रूपमा ओपनहेइमरले न्यू मेक्सिकोको निजी विद्यालय लस आलमोस र्‍यान्च स्कुललाई रोजे । परियोजनाका लागि चाहिएको कयौँ आवश्यकता सो स्कुलले पूर्ति गर्थ्यो । ओपनहेइमर किशोर हुँदा सो ठाउँलाई उनले निकै माया गर्थे । उच्च विद्यालयको पढाइ पूरा गरेपछि ओपनहेइमर हार्वार्ड विश्वविद्यालयमा पढ्न खोजेका थिए । तर उनी साह्रै बिरामी भएकाले उनका मातापिताले उनलाई न्यू मेक्सिको पठाए । यति नै बेला त्यहाँको मरुभूमिप्रति उनको आकर्षण बढ्यो ।

oppenhiemer-einstienकेही दशकमा उनी कयौँ पटक त्यहाँ गए । अन्ततः म्यानह्याटन परियोजनाका लागि लस आलामोसको सो स्कुललाई किनियो र यसलाई गोप्य अनुसन्धान प्रयोगशालामा परिणत गरियो ।

  • महामन्दीको समयमा साम्यवादमा रुचि

महामन्दीले उनको मनमा अमेरिकामा मजदुरको अधिकार र साम्यवादप्रति रुचि बढायो । सन् १९३० को दशकको अन्त्यतिर ओपेनहेइमर वामपन्थी धारको समर्थन गर्ने कार्यक्रमहरूमा सहभागी भए । स्पेनको गृहयुद्धमा उनले फासिस्ट विरोधी रिपब्लिकनहरूलाई चन्दा दिए, र वामपन्थी पत्रिका पिपल्स वर्ल्ड पनि किने । तर आफ्नो भाइ, प्रेमिका र श्रीमती जसरी उनी औपचारिक रूपमा कम्युनिस्ट पार्टीमा आबद्ध भएनन् ।

दोस्रो विश्वयुद्धको समयमा अमेरिका सोभियत संघसँग जोडिएको भए पनि रुढीवादी अमेरिकी अधिकारीहरूको मनमा यसप्रति सन्देह थियो । म्यानह्याटन परियोजनाका लागि ओपनहेइमरलाई चुन्ने सेनाका जनरल लेस्ली गु्रभ्स जुनियरलाई कम्युनिस्टप्रति उनको झुकावबारे थाहा थियो । तर यसलाई उनले ठुलो समस्या ठानेनन् । युद्ध सकिएपछि विरोधीहरूले यसलाई सुरक्षा जोखिमसँग जोडेर ओपनहेइमरका बदख्वाइँ गर्न प्रयोग गरे ।

scientists-visit-atomic-exhibit-515335876-5c6f614b46e0fb0001b681bb

रेड स्केयरको समयमा कालो सूचीमा

सन् १९५६ मा अमेरिकाको आणविक कार्यक्रमलाई हेर्न आणविक ऊर्जा आयोग गठन गरियो । ओपनहेइमरले आणविक अस्त्रमा थप नियन्त्रण गर्नुपर्छ भन्ने तर्क अगाडि सारेका थिए । उनी हाइड्रोजन बमको विकासको विरुद्धमा थिए । अमेरिकाले पहिलो पटक यो बम सन् १९५२ मा परीक्षण गरेको थियो ।

हिरोशिमा र नागासाकीमा खसालिएको आणविक बमको तुलनामा हाइड्रोजन बम हजार गुणा शक्तिशाली भएकाले उनी यसको विरुद्धमा थिए । ठुलोभन्दा ठुलो बम बनाउने होडबाजीले निम्त्याउन सक्ने विनाशप्रति ओपनहेइमर चिन्तित थिए ।

तर सन् १९५३ मा आणविक ऊर्जा आयोगका अध्यक्ष बनेका व्यवसायी लेविस स्ट्रसलाई ओपनहेइमरले गरेको विरोध मन परेन । ओपनहेइमरको बफादारीमाथि छानबिन गर्न उनले सुनवाइ नै राखे । यतिबेला दोस्रो रेड स्वकेयर उत्कर्षमा थियो । एफबीआईले ओपनहेइमरको फोन ट्याप गरेर कम्युनिस्टहरूसँगको उनको साँठगाठ पत्ता लगायो । यसपछि उनलाई सुरक्षा खतरा नै घोषित गरियो । सन् १९५४ मा सरकारले उनको ‘सेक्युरिटी क्लियरेन्स’ खारेज गर्‍यो । सो युगमा कालो सूचीमा राखिएको कयौँ व्यक्तिमा उनी पनि एक बने ।

  • मृत्युको ५० वर्षपछि मात्रै पाए सुरक्षा सफाइ

‘सेक्युरिटी क्लियरेन्स’ खारेज भएपछि ओपनहेइमरले आणविक ऊर्जा आयोगमा काम गर्न पाएनन् । योसँगै अमेरिकी सरकारको सल्लाहकारको रूपमा उनको करियर पनि सकियो । विज्ञानको क्षेत्रमा पाएको उपलब्धि र नेतृत्वका लागि सन् १९६३ मा तत्कालीन राष्ट्रपति जोन एफ केनेडीले उनलाई एन्रिको फर्मी अवार्डले सम्मानित गरे । तर उनले कहिले पनि ‘सेक्युरिटी क्लियरेन्स’ पाएनन् । ६२ वर्षको उमेरमा सन् १९६७ मा उनको मृत्यु नहुँदासम्म ओपनहेइमरले भौतिकशास्त्र र आणविक प्रविधिबारे निरन्तर बोल्ने र लेख्ने काम गरिरहे । सन् २०२२ को डिसेम्बरमा मात्रै अमेरिकाको ऊर्जा विभागले ओपनहेइमरको विषयमा भएको सुनवाइ अनुचित थियो भन्ने स्वीकार गर्दै ‘सेक्युरिटी क्लियरेन्स’ खारेज गर्ने फैसलालाई रद्द गर्‍यो । ओपनहेइमरको मृत्यु भएको ५० वर्षपछि मात्रै उनले सफाइ पाए ।

यो सामाग्री रातोपाटी डटकमबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
145
सम्बन्धित

लोकप्रिय

लोकप्रिय