झापामा बाढीको सूचना दिने साइरन जोडिदै

बिर्तामोड । झापामा यस वर्ष बाढीको उच्च जोखिममा रहेकाले पूर्वसूचना प्रणालीलाई जोड दिँदै विभिन्न स्थानमा साइरन जडान गरिएको छ । मनसुनजन्य विपदको क्षति न्यूनीकरण गर्न झापाका विभिन्न स्थानमा साइरन जडान गर्ने कार्यलाई तीव्रता दिइएको हो ।

जल तथा मौसम विज्ञान विभागले करिब दुई साताअघि जिल्लाको निन्दा र बिरिङ खोलामा एकएकवटा साइरन जडान गरेको छ । यसअघि नेपाल रेडक्रस सोसाइटीको पहलमा कनकाई नदीको ९ ठाउँमा साइरन जडान गरिएको थियो । करिब ६ वर्षअघि कनकाईको विभिन्न ठाउँमा ९ वटा साइरन जडान गरिएको रेडक्रस झापाका सभापति लोकराज ढकालले बताए ।

त्यस्तै, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि झापामा साइरन जोड्ने भएको छ । अहिलेसम्म झापाको राजमार्ग क्षेत्रमा मात्र साइरन जडान गरिएकोमा जिल्लाको झापा गाउँपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाको अति जोखिमयुक्त क्षेत्रमा एकएकवटा साइरन जडानको लागि माग गरिएको रेडक्रसका सभापति ढकालले बताए ।


नदी तथा खोलाहरुमा जल सतह सतर्कता तहभन्दा माथि पुगेपछि ती साइरनले आवाज दिँदै स्थानीयबासीहरुलाई सचेत गराउने गर्छन् । त्योसँगै कनकाईमा एसएमएस प्रणालीको पनि व्यवस्था गरिएको छ । कनकाईमा रहेको वर्षामापन यन्त्रले जलसतह ३.८ मिटर माथि पुगेपछि एसएमएस पठाउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ । निन्दा र बिरिङमा जडान गरिएका साइरनले पूर्णता पाइनसकेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी नेपालले जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरेर पूर्वसूचना प्रवाह गरिने जानकारी दिए ।

जिल्लाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा ७ पालिका छन् । गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल, झापा गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा छन् । त्यस्तै, मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई, दमक नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने हल्दिबारी, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरपालिका न्यून जोखिममा छन् ।

यो वर्ष अत्यधिक वर्षा हुने मौसम विभागको प्रक्षेपणअनुसार समितिले जिल्लामा करिब आठ हजार ९१९ घरधुरी बाढीका कारण प्रभावित हुने आँकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
140
सम्बन्धित

लोकप्रिय

लोकप्रिय