|
739 SHARES |
नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बनाउने उद्देश्यले दुई महिनाअघि मानवसेवा आश्रम र नगरपालिकाबीच सम्झौता भएको थियो। सम्झौतापछि नगरपालिकाका विभिन्न क्षेत्रमा नियमित उद्धार अभियान सञ्चालन हुँदै आएको छ। अभियानका क्रममा हालसम्म मेचीनगर क्षेत्रबाट १०६ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिएको मानवसेवा आश्रमका झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिनुभयो।
खुला सिमानाका कारण विभिन्न स्थानबाट सडकआश्रित मानवहरू मेचीनगरमा आउने क्रम जारी रहनुका साथै पारिवारिक विछोड, असहाय अवस्था र विभिन्न सामाजिक तथा आर्थिक परिस्थितिका कारण सडकमा कष्टकर जीवन बिताउन बाध्य व्यक्तिहरूको पहिचान र उद्धार गर्नुपर्ने चुनौतीसमेत रहेको छ। त्यसैले नगरपालिकालाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने अभियानलाई प्रभावकारी बनाउन निरन्तर निगरानी, उद्धार तथा संरक्षणको व्यवस्था आवश्यक रहेको आश्रमले जनाएको छ।
अभियानप्रति स्थानीय सरकारको सक्रियता पनि बढेको छ। मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल स्वयं उद्धार कार्यमा सहभागी हुँदै आउनुभएको छ। उहाँहरूले मानवसेवा आश्रमले सञ्चालन गर्दै आएको मानवीय सेवाको प्रशंसा गर्दै नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गर्ने अभियानमा स्थानीय सरकारका तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
मानवसेवा आश्रमले उद्धार तथा संरक्षणसँगै मानवता प्रवर्द्धनलाई पनि अभियानका रूपमा अघि बढाएको छ। यसक्रममा मेचीनगरका विभिन्न विद्यालयमा मानवता प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीमा मानवीय भावना, सेवाभाव र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने प्रयास भइरहेको छ।
वि.सं. २०८१ मंसिर २३ गते विधिवत् रूपमा सञ्चालनमा आएको मानवसेवा आश्रमको झापा शाखामा हाल १०३ जना आश्रित छन्। आश्रमका अनुसार आश्रितमध्ये ३४ जना महिला र ६९ जना पुरुष रहेका छन्।
आश्रमले हालसम्म झापाका विभिन्न स्थानबाट २२६ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिसकेको छ। उद्धार गरिएकामध्ये ११५ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ। सडकमा कष्टकर जीवन बिताउन बाध्य व्यक्तिहरूको उद्धार, संरक्षण र परिवारमा पुनःस्थापनाको अभियानलाई निरन्तरता दिँदै मेचीनगरलाई मंसिर १५ गते औपचारिक रूपमा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गर्ने तयारी गरिएको हो।









