रश्मिको दोहोरो ह्याट्रिकमा एपिएफको ७ गोल, भुटानी टोली स्तब्ध



704 SHARES

झापा । रश्मिकुमारी घिसिङको सनसनीपूर्ण दोहोरो ह्याट्रिकसँगै विभागीय टोली एपिएफ फुटबल क्लबले दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपमा शानदार जित निकालेको छ ।

झापाको दुधेमा जारी प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा एपिएफले भुटानको थिम्पु राभेन वुमन फुटबल क्लबलाई ७–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । अब एपिएफले सेमिफाइनलमा झापा–११ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

विज्ञापन

एपिएफको जितमा रश्मिकुमारी घिसिङ एक्लैले ६ गोल गरिन् । उनले खेलको २६औँ, ३०औँ र ४५औँ मिनेटमा गोल गर्दै पहिलो हाफमै ह्याट्रिक पूरा गरिन् । मैदानको मध्यभागबाट एकल प्रयासमा गरेको तेस्रो गोलसँगै एपिएफले पहिलो हाफ ३–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा पनि रश्मिको गोल वर्षा रोकिएन । ५२औँ मिनेटमा पेनाल्टीमार्फत उनले चौथो गोल गरिन् । भुटानकी पुनम चेम्जोङले डि–एरियामा रश्मिलाई फाउल गरेपछि एपिएफले पेनाल्टी पाएको थियो ।

५५औँ मिनेटमा कुसुम खतिवडाको क्रसमा हेडमार्फत गोल गर्दै रश्मिले पाँचौँ गोल गरिन् । त्यसको चार मिनेटपछि कुसुमसँग तालमेल गर्दै बल अगाडि बढाएर गोल गरेपछि उनले दोहोरो ह्याट्रिक पूरा गरिन् ।

खेलको ६२औँ मिनेटमा अनिता केसीले रश्मिको पासमा गोल गर्दै एपिएफको जित ७–० मा सुनिश्चित गरिन् ।

खेल अवधिभर एपिएफले मैदानमा एकछत्र दबदबा कायम राखेको थियो । भुटानी टोलीले विपक्षी पोस्टमा उल्लेखनीय खतरा सिर्जना गर्न सकेन । धरानमा हालै सम्पन्न धरान महिला गोल्डकपको विजेता एपिएफले झापा महिला गोल्डकपमा पनि उपाधिका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ । एपिएफ गत संस्करणको उपविजेता टोलीसमेत हो ।

खेलको प्लेयर अफ द म्याच रश्मिकुमारी घिसिङ घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगिताअन्तर्गत मंगलबार अन्तिम क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लब र बागमती युथ क्लब भिड्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् भने उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय