कुमार बेनविरुद्ध जाहेरी दर्ता गर्न प्रहरीको आनाकानी, प्रधानमन्त्री कार्यालयको दबाब रहेको आरोप



837 SHARES

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार तथा रणनीतिकार कुमार ब्यञ्जनकार (कुमार बेन) विरुद्ध जाहेरी दर्ता गराउन खोज्दा जिल्ला प्रहरी परिसर काठमाडौंले आनाकानी गरेको आरोप लागेको छ।

जेनजी मुभमेन्ट नेपालका प्रतिनिधिले जाहेरी दर्ताका लागि प्रहरीसँग सम्पर्क गर्दा अनलाइनमार्फत जाहेरी पठाउने प्रयाससमेत सफल हुन नसकेको बताएका छन्। मुभमेन्टका प्रतिनिधि र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाबीच भएको कुराकानीका क्रममा इमेल नचलेको जवाफ आएको उनीहरूको भनाइ छ।

त्यसपछि ह्वाट्सएपमार्फत जाहेरी पठाउन सकिने विकल्पबारे जिज्ञासा राख्दा एसपी थापाले नियम र कानुनअनुसार नै जाहेरी पेस गर्नुपर्ने बताएका थिए।

विज्ञापन

सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल प्रविधिमैत्री बनाउने घोषणा गरिरहेका बेला राजधानीकै प्रहरी कार्यालयमा अनलाइनमार्फत जाहेरी बुझाउने व्यवस्था प्रभावकारी नहुनु विडम्बनापूर्ण भएको भन्दै मुभमेन्टले असन्तुष्टि जनाएको छ। मुभमेन्टका प्रतिनिधिले प्रधानमन्त्री कार्यालयको दबाबमा जाहेरी दर्ता गर्न आनाकानी गरिएको आरोपसमेत लगाएका छन्। यद्यपि, यस आरोपको स्वतन्त्र पुष्टि भएको छैन।

मुभमेन्टका तर्फबाट जाहेरवाला विजय शाहले अब भौतिक रूपमा प्रहरी कार्यालयमै उपस्थित भएर वा कुरियरमार्फत जाहेरी बुझाउने तयारी गरेका छन्।

इनम सापकोटाका दुईवटा मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षण हुनुअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार ब्यञ्जनकारको ज्वागलस्थित निवासमा दुई दिनसम्म राखिएको मुभमेन्टको आरोप छ। उक्त अवधिमा मोबाइलमा रहेका सामाजिक सञ्जालका खाता चलाइएको र केही महत्त्वपूर्ण सन्देशसमेत मेटाइएको दाबी गर्दै मुभमेन्टले जाहेरी तयार पारेको हो।

जाहेरीमा मुलुकी अपराध संहिता, २०७४ को दफा ८९ अन्तर्गत झुटा प्रमाण बनाउन नहुने कसुरमा अनुसन्धान गरी दोषी देखिए कानुनी कारबाही गर्न माग गरिएको छ।

यस प्रकरणसँगै कुमार ब्यञ्जनकारसँग जोडिएका भनिएका अन्य विवादित विषयसमेत सार्वजनिक बहसमा आएका छन्। कल बाइपासजस्तो गम्भीर अपराधमा संलग्नताको आशंका तथा भारत भ्रमणका क्रममा त्यहाँका जासुसी निकायसँग सम्बन्धित व्यक्तिहरूसँग भेटघाट गरेको भनिएका विषयमा समेत प्रश्न उठाइएको छ। यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

जेनजी आन्दोलनका अगुवाहरूले मोबाइल फोन प्रकरणसहित ब्यञ्जनकारसँग जोडिएका सबै आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। राज्यका जिम्मेवार निकायले कुनै पनि राजनीतिक दबाब वा प्रभावमा नपरी अनुसन्धान गर्नुपर्ने र अनुसन्धानबाट प्राप्त तथ्य सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय