जेईबाट पीडित ६ वर्षीया एलिनाको उपचारका लागि सहयोग अभियान सुरु



960 SHARES

झापा । जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमणबाट पीडित अर्जुनधारा–१ की ६ वर्षीया एलिना बुर्जा मगरको उपचारका लागि आर्थिक सहयोग जुटाउन अभियान सुरु गरिएको छ। उपचारमा ठूलो रकम खर्च भइसके पनि थप उपचारका लागि आर्थिक अभाव भएपछि परिवार र स्थानीयवासीले सहयोगको अपिल गरेका छन्।

अर्जुनधारा–१ निवासी देवेन्द्र बुर्जा मगरकी छोरी एलिनालाई गत असोज ५ गतेदेखि उच्च ज्वरो आएको थियो। बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा परीक्षण गर्दा जेई संक्रमण पुष्टि भएपछि नौ दिनसम्म उपचार गराइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि परिवारले उनलाई भारतको सिलिगुडीस्थित शान्ति नर्सिङ होम पुर्‍याएका हुन्।

विज्ञापन

हाल एलिनालाई उक्त अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार गराइँदै छ। स्वास्थ्यमा केही सुधार देखिए पनि लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले थप आर्थिक सहयोग आवश्यक रहेको अर्जुनधारा–१ का वडाध्यक्ष उपेन्द्र बस्नेतले जानकारी दिए।

विज्ञापन

एलिनाका काका टेकन बुर्जा मगरका अनुसार हालसम्म उपचारमा ३० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। अहिले पनि दैनिक ७० देखि ८० हजार भारतीय रुपैयाँ उपचारमा खर्च भइरहेको छ। उपचारका लागि आवश्यक रकम जुटाउन कठिन भएपछि परिवारले सबैसँग सहयोगको याचना गर्नुपरेको उनले बताए।

यसैबीच, एलिनाको उपचारमा सहयोग जुटाउने उद्देश्यले वडामा सर्वपक्षीय भेला गरी ‘एलिना बुर्जा मगर बचाऔँ अभियान’ सञ्चालन गर्ने निर्णय गरिएको वडाध्यक्ष बस्नेतले जानकारी दिए।

अभियानलाई व्यवस्थित रूपमा अघि बढाउन वडा सदस्य मदन लिमेल मगरको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिका सदस्यमा विजय सेन्दाङ, पदमबहादुर निरौला, सुवास राई, तिवेन्द्र काफ्ले, पदम गोले, विक्रम गोले, पवन खनाल, विशाल खड्का, कुमार बस्नेत, विकास लिम्बू, सन्त मगर र ढिंगबहादुर दर्लामी मगर रहेका छन्।

अभियान समिति र परिवारले एलिनाको जीवनरक्षाका लागि देश तथा विदेशमा रहेका नेपालीलाई आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन्। सहयोग गर्न चाहनेले एलिनाकी काकी गीतामाया सोराली मगरको नाममा रहेको नेपाल एसबीआई बैंकको खाता नम्बर १८२१५२४१४१७३९८ मा रकम जम्मा गर्न सक्ने जनाइएको छ।

आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेकी बालिका एलिनाको जीवनरक्षाका लागि सबैको सानो सहयोग पनि महत्वपूर्ण हुने भन्दै अभियानमा सहभागी हुन परिवारले अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय