|
1,331 SHARES |
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले नेतृत्वमा निरन्तरताको क्रमभङ्ग गर्दै मुलुकको नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस सभापति गगनकुमार थापाले पार्टी नेतृत्वमा नयाँ इतिहास निर्माण गरेको बताउनुभयो। उहाँले थापाको राजनीतिक यात्राप्रति आफू सकारात्मक रहेको उल्लेख गर्दै अब कांग्रेसको नेतृत्वमा मात्र सीमित नरही देशकै नेतृत्व गर्ने दिशामा अघि बढ्न आग्रह गर्नुभयो।
आफू प्रधानमन्त्री रहँदा थापा स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै प्रचण्डले त्यतिबेलै थापामा देशको नेतृत्व गर्ने क्षमता रहेको आफूले बताएको उल्लेख गर्नुभयो। “गगनजीलाई बधाई छ, गगनजीमा नेतृत्व गर्ने क्षमता छ, अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ, आज त्यही देखिरहेको छु,” उहाँले भन्नुभयो।
प्रचण्डले कांग्रेसभित्र अझै समेटिन बाँकी रहेका नेता तथा समूहलाई जोडेर अघि बढ्न सभापति थापालाई आग्रह गर्नुभयो। थापाले कांग्रेसको नेतृत्वसँगै मुलुककै नेतृत्व गर्ने दिशामा अघि बढ्नुपर्ने भन्दै त्यसका लागि आफ्नो साथ र सहयोग रहने उहाँले बताउनुभयो।
सम्बोधनका क्रममा प्रचण्डले मुलुकमा गणतन्त्र र लोकतन्त्रसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको उल्लेख गर्दै राजनीतिक दलहरूलाई सचेत रहन आग्रह गर्नुभयो।
उहाँले आफू र नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाबीच भएको शान्ति सम्झौताका केही विषय अझै टुङ्गिन बाँकी रहेको पनि बताउनुभयो। ती विषयको समाधानका लागि वर्तमान कांग्रेस सभापति थापाले भूमिका खेल्नुपर्ने उहाँको धारणा थियो।
“शान्ति सम्झौताका केही चिज अझै टुङ्ग्याउन बाँकी छ। यो टुङ्गिएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्छ। यो पनि गगन थापाले पूरा गर्नुपर्ने छ,” प्रचण्डले भन्नुभयो।










