|
851 SHARES |
मेचीनगर । ज्यामिरगढी युवा क्लबको आयोजनामा ज्यामिरगढीमा सञ्चालित अन्तरवडा स्तरीय फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। मेचीनगरका १५ वटा वडाको टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ विजयी भएको छ।
प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर ३ ले वडा नम्बर १५ लाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो। प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर ३ ले गरेको एक गोल नै निर्णायक बनेको थियो।
प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गर्नुभएको थियो। क्लबका अध्यक्ष असिम श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन क्लबका महासचिव अनुप शिवाकोटीले गर्नुभएको थियो।
प्रतियोगिता असोज २९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा मेचीनगरका १५ वटा टोली सहभागी छन्।
प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३१ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि तथा अतिथिका रूपमा स्थानीय सामाजिक व्यक्तित्व, राजनीतिज्ञ, स्थानीय तहका पदाधिकारी, समाजसेवीलगायतको उपस्थिति रहेको थियो। प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलको विकाससँगै युवाबीच आपसी सम्बन्ध र खेलकुद संस्कृतिको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।










