|
1,063 SHARES |
अर्जुनधारा । झापाको अर्जुनधारा–११ मा आजदेखि प्रथम सालबारी–मिलडाँडा पुरुष भेट्रान्स फुटबल प्रतियोगिता सुरु हुँदैछ। सालबारी–मिलडाँडा युवा परिवारको आयोजनामा प्रतियोगिता देउनिया खेलमैदानमा सञ्चालन हुन लागेको हो।
प्रतियोगितामा ८ वटा भेट्रान्स टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन खेलमा ज्ञानेचोक भेट्रान्स पृथ्वीनगर र झिलझिले भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ।
असोज २४ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाउनेछ।
प्रतियोगिताका प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गर्दै नगद २ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। यस्तै, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही नगद ३ हजार ५ सय रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख ९० हजार २ सय २२ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
खेलकुद क्षेत्रमा सक्रिय भेट्रान्स खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीयस्तरमा फुटबलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक नन्दलाल खतिवडाले बताउनुभयो।










