|
1,032 SHARES |
झापा । लगातारको वर्षापछि देशभरको मौसम क्रमशः सुधार हुँदै जाने भएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभर आंशिक बदली रहने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ। ती क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।
तराईतर्फ सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
सोमबार राति हिमाली तथा पहाडी भू–भागसँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
रातिको समयमा हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहे पनि देशभरको मौसममा क्रमिक सुधार हुँदै जाने पूर्वानुमान गरिएको छ।
लगातारको वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम देखिएकाले वर्षा केही कम हुँदै गए पनि नदी तथा खोलानाला आसपासका बासिन्दालाई भने सतर्क रहन आग्रह गरिएको छ।










