|
922 SHARES |
झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा सबिना शेर्मा लिम्बुले उम्मेदवारी दिने भएकी छन्।
बाह्रदशी गाउँपालिका–५ निवासी लिम्बुले समानुपातिकतर्फ आदिवासी जनजाति समूहबाट महाधिवेशन प्रतिनिधिका लागि असोज १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा उम्मेदवारी दर्ता गराउने तयारी गरेकी हुन्।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी लिम्बु हाल नेपाल महिला संघ निर्वाचन क्षेत्र नं. ३ ‘ख’ की सचिवका रूपमा सक्रिय छिन्। विद्यार्थी जीवनदेखि नै कांग्रेसको संगठन तथा पार्टीका गतिविधिमा जोडिँदै आएकी उनी पछिल्लो समय महिला संघमार्फत संगठन निर्माण, सामाजिक गतिविधि तथा पार्टीका विभिन्न कार्यक्रममा सक्रिय रहँदै आएकी छन्।
लिम्बुले स्थानीय तहदेखि प्रदेश तथा संघीय निर्वाचनसम्म पार्टीका गतिविधिमा सक्रिय रूपमा खटिँदै आएको बताएकी छन्। सामाजिक सेवाका क्रममा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका, समस्यामा परेका तथा दिनदुःखी नागरिकलाई आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको उनको भनाइ छ।
नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेकी लिम्बु क्रमशः महिला संघको जिम्मेवारीमा पुगेकी हुन्। कांग्रेसको संगठनलाई तल्लो तहदेखि माथिल्लो तहसम्म थप सुदृढ बनाउन आफ्नो अनुभव र सक्रियतालाई प्रयोग गर्दै आएको उनले बताएकी छन्।
‘पार्टीको संगठन निर्माणसँगै समाजका विभिन्न समुदाय र वर्गका मानिससँग जोडिएर काम गर्ने अवसर पाएकी छु,’ लिम्बुले भनिन्, ‘अब संगठनमा आफ्नो अनुभव र सक्रियतालाई अझ फराकिलो बनाउँदै पार्टीको नीति, विचार र संगठन सुदृढीकरणमा योगदान गर्ने उद्देश्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन लागेकी हुँ।’
उनको उम्मेदवारी महिला, युवा तथा आदिवासी जनजाति समुदायको प्रतिनिधित्वसँग पनि जोडिएको छ। संगठनमा महिला तथा युवा पुस्ताको सहभागितालाई थप प्रभावकारी बनाउँदै पार्टीलाई जनतासँग नजिक बनाउने विषयलाई उनले आफ्नो प्राथमिकतामा राखेकी छन्।
कांग्रेसले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते गाउँ–नगर अधिवेशन तथा असोज १० गते प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदैछ। क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।
लिम्बुले आगामी दिनमा कांग्रेसको संगठन विस्तार, कार्यकर्ताबीच समन्वय तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउँदै पार्टीलाई जनतासँग जोड्ने काममा आफूलाई केन्द्रित गर्ने बताएकी छन्।
उनको उम्मेदवारीसँगै झापा क्षेत्र नं. ३ मा महिला तथा आदिवासी जनजाति समुदायको प्रतिनिधित्वको विषय पनि चर्चामा आएको छ।










