|
823 SHARES |
झापा । जिल्ला प्रहरी कार्यालय झापाले अपहरण तथा शरीर बन्धकसम्बन्धी घटनाको अनुसन्धानका क्रममा मानव कङ्काल फेला पारेको छ। प्रहरीले मानव कङ्कालसहित दुई जनालाई पक्राउ गरी घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार ललितपुर जिल्लाको साविक मणिखेल हाल महाङ्काल गाउँपालिका–१ स्थायी घर भएका दिलनाथ बजगाईँ २०८१ असार ९ गतेदेखि झापाको मेचीनगर नगरपालिका–६ काकडभिट्टाबाट हराइरहेका थिए। हराएको सम्बन्धमा उनकी श्रीमती तुलसा बुढा बजगाईँले दिएको निवेदनका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा दिलनाथ बजगाईँसँगै हिँड्ने उनका साथी झापाको मेचीनगर नगरपालिका–७ का शान्ति राम भनिने गुप्त बहादुर सिंहसँग सोधपुछ गरिएको प्रहरीले जनाएको छ। सोधपुछका क्रममा सिंहले खुलाइदिएको स्थानका आधारमा मेचीनगर–७ भानु खोला ९वैरी गाउँ०स्थित जयप्रसाद तिवारीको जग्गामा रहेको बाँसघारीमा प्रहरीले खोजतलास गरेको थियो।
प्रहरी टोलीले स्थानीयवासी तथा जनप्रतिनिधिसमेतको रोहवरमा २०८३ असोज ७ गते जेसीबी प्रयोग गरी उत्खनन गर्दा मानव कङ्काल फेला पारेको जनाएको छ। फेला परेको कङ्काल परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर, झापा पठाइएको प्रहरीले जनाएको छ।
कङ्काल दिलनाथ बजगाईँकै हो वा होइन भन्ने यकिन गर्न आवश्यक परीक्षण भइरहेको प्रहरीको भनाइ छ। शव परीक्षणपछि नमुना परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–१० का ४५ वर्षीय राम भनिने गुप्त बहादुर सिंह र मेचीनगर नगरपालिका–८ का ४९ वर्षीय संजय लामा रहेका छन्। सिंहको स्थायी घर म्याग्दी जिल्ला रहेको र लामा भारतको आलिपुरद्वार निवासी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।










