अस्पतालबाट सडकमा फर्किए आमरण अनसन बसेका जेनजी घाइते



735 SHARES

बिर्तामोड। विभिन्न माग राख्दै आमरण अनसनमा बसेका जेनजी घाइते विवेक दनुवार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भए पनि पुनः सडकमा फर्किएर अनसनलाई निरन्तरता दिएका छन्।

अर्जुनधारा–६ का दनुवारले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूका तर्फबाट विभिन्न माग राख्दै भदौ ३० गतेदेखि बिर्तामोडमा आमरण अनसन सुरु गरेका थिए। अनसनको दोस्रो दिन स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिर्तामोडस्थित बीएन्डसी अस्पताल भर्ना गरिएको थियो।

विज्ञापन

अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य नभए पनि दनुवार शनिबार पुनः सडकमा फर्किएका हुन्। माग सम्बोधन नभएसम्म आमरण अनसन जारी राख्ने अडानमा रहेका उनले अनसनको चौथो दिनसम्म पनि राज्यका तर्फबाट आफ्ना मागप्रति कुनै ठोस चासो नदेखाइएको गुनासो गरेका छन्।

विज्ञापन

जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार, क्षतिपूर्ति र भविष्यको सुनिश्चिततासहितका माग लिएर अनसनमा बसेका दनुवारलाई अन्य घाइतेहरूले समेत साथ दिइरहेका छन्। अनसनका कारण उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको सहयोगी मनोज कडरियाले जानकारी दिए।

कडरियाका अनुसार दनुवारको स्वास्थ्य अवस्था कमजोर हुँदै गए पनि सरकारी निकायबाट माग सम्बोधनका लागि अहिलेसम्म कुनै पहल भएको छैन। उनले राज्यको ध्यानाकर्षण गराउँदै झापाबाट निर्वाचित सांसदहरूले समेत जेनजी घाइतेहरूको अवस्थाप्रति गम्भीर चासो दिनुपर्ने बताए।

अनसनकारीहरूले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई निःशुल्क तथा गुणस्तरीय उपचारको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। यसअघि उपचारमा भएको सम्पूर्ण खर्च राज्यले बेहोर्नुपर्ने, घाइतेहरूलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने तथा उनीहरूको दीर्घकालीन जीवनयापनको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

त्यस्तै, घाइते तथा सहिद परिवारका सदस्यलाई निःशुल्क शिक्षा, सार्वजनिक यातायातमा घाइतेहरूका लागि विशेष छुट तथा घाइते र सहिद परिवारको हकहित सम्बोधन हुने गरी विशेष कानुनी व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारिएको छ।

स्वास्थ्य अवस्था कमजोर बन्दै गए पनि माग पूरा नभएसम्म अनसन नतोड्ने अडानमा रहेका दनुवारले आफूहरूको पीडा र मागलाई सरकारले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय