|
716 SHARES |
अर्जुनधारा । भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकहरूको आत्माको चिरशान्तिको कामना गर्दै झापाको अर्जुनधारा नगरपालिका–स्थित शनिश्चरे बजारमा बौद्ध धर्म परम्पराअनुसार पूजा–पाठसहित दीप प्रज्वलन गरिएको छ।
विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति ऐक्यबद्धता जनाउन नेपाल तामाङ घेदुङ अर्जुनधारा नगर समितिको आयोजनामा कार्यक्रम गरिएको हो।
कार्यक्रममा लामागुरुहरूले बौद्ध धर्म परम्पराअनुसार विशेष पूजा–पाठ गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए। त्यसक्रममा दीप प्रज्वलन गर्दै बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।
विपद्ले ठूलो मानवीय क्षति पुर्याएको अवस्थामा पीडित परिवारको दुःखमा साथ दिने र विपद्मा परेकाहरूलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रममा राहत रकमसमेत संकलन गरिएको थियो। सहभागीहरूले आफ्नो क्षमताअनुसार सहयोग गर्दै विपद्को पीडामा रहेका परिवारप्रति मानवीय ऐक्यबद्धता प्रकट गरेका थिए।
पूजा–पाठ र दीप प्रज्वलनमार्फत मृतकको आत्माको शान्तिको कामना गर्नुका साथै जीवितहरूको उद्धार, उपचार र राहतका लागि समेत सहयोगको भावना जागृत गराउने प्रयास गरिएको आयोजक संस्थाका अध्यक्ष बिर्खबहादुर गाेले तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा संकलित राहत रकम नेपाल सरकारको विपद् राहत उद्धार कोषमा पठाइने आयोजक संस्था नेपाल तामाङ घेदुङ अर्जुनधारा नगर समितिका सचिव धनबहादुर तामाङले जानकारी दिनुभयो ।
बाढीले निम्त्याएको पीडा र शोकका बीच गरिएको दीप प्रज्वलनले दिवंगतप्रति श्रद्धा, पीडितप्रति सहानुभूति र विपद्को घडीमा मानवीय सहयोगको भावना अझ बलियो बनाउन सन्देश दिएको छ।










