|
1,133 SHARES |
बिर्तामोड । पूर्वेली ढुवानी सेवा प्रालि बिर्तामोडले विश्वकर्मा पूजाको अवसर पारेर उत्कृष्ट चालक तथा ढुवानी व्यवसायमा लामो समयदेखि योगदान पुर्याउँदै आएका व्यक्तित्वलाई सम्मान गरेको छ । कम्पनीले बोनम्यारोको समस्याबाट पीडित १० वर्षीय बालकको उपचारका लागि आर्थिक सहयोगसमेत गरेको छ ।
कम्पनीले हिलिहाङ गाउँपालिका–२, पाँचथरका नरेश मगरलाई उत्कृष्ट चालकका रूपमा ३१ हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ । सोही स्थानका सुवास प्रसाईंलाई २१ हजार रुपैयाँसहित सम्मान गरिएको कम्पनीले जनाएको छ ।
त्यस्तै, बिर्तामोड नगरपालिका–५ का तेजप्रसाद कडरियालाई चालक तथा ढुवानी व्यवसायमा लामो समयदेखि पुर्याउँदै आएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । सहचालक सुजन हेम्वियालाई पनि ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।
कम्पनीका अध्यक्ष निर्मलराज खत्रीले आगामी दिनमा हरेक महिना उत्कृष्ट चालकलाई सम्मान गर्ने घोषणा गरेका छन् । उनका अनुसार चालक तथा कर्मचारीको योगदानलाई प्रोत्साहन गर्दै सुरक्षित र व्यवस्थित ढुवानी सेवामा जोड दिइनेछ ।
विश्वकर्मा पूजाका अवसरमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने, प्रहरी नायव निरीक्षक दिनेश खत्री, प्रेस काउन्सिलका पूर्व सदस्य गणेश पोखरेल, मेची ट्रान्सपोर्ट एशोसिएसनका उपाध्यक्ष देवराज तामाङ, सचिव पदम श्रेष्ठ र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले मन्तव्य राखेका थिए ।

यसै अवसरमा कम्पनीले बिर्तामोड नगरपालिका–६ का बोनम्यारो समस्याबाट पीडित १० वर्षीय साइमन हस्दाको उपचारका लागि ११ हजार रुपैयाँ सहयोग गरेको छ । मानवीय सेवाको भावनासहित बालकको उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको अध्यक्ष खत्रीले बताए ।
पूर्वेली ढुवानी सेवा प्रालिले पूर्वी नेपाललाई आफ्नो आधार क्षेत्र बनाएर देशभर मालवाहक ढुवानी सेवा प्रदान गर्दै आएको छ । कम्पनीसँग ४० भन्दा बढी मालवाहक ट्रक सञ्चालनमा रहेका छन् भने चालक, सहचालक तथा कर्मचारी गरी करिब १०० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
कम्पनीले आफ्ना चालक, सहचालक तथा कर्मचारीको आकस्मिक स्वास्थ्य उपचार तथा आपत्कालीन आवश्यकतामा सहयोग पुर्याउन ‘स्टाफ इमर्जेन्सी फण्ड’ सञ्चालनमा ल्याउने तयारीसमेत गरेको छ । अध्यक्ष खत्रीका अनुसार कर्मचारीको सुरक्षा, कल्याण तथा आपत्कालीन अवस्थामा सहयोग गर्ने उद्देश्यले उक्त कोष सञ्चालन गर्न लागिएको हो ।
कार्यक्रममा अध्यक्ष खत्रीले चालक तथा कर्मचारीको योगदानको सम्मान गर्दै आगामी दिनमा सुरक्षित, विश्वसनीय र प्रभावकारी ढुवानी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।










