आज ऋषिपञ्चमी पर्व आज मनाइँदै



725 SHARES

काठमाडौँ । नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी आज ऋषिपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा महिलाहरूले बिहानै उठेर नित्यकर्म सकेपछि तीज व्रतको पारायण गरी विभिन्न धार्मिक विधिअनुसार स्नान तथा पूजा गर्ने परम्परा छ।

यस वर्ष चौथी तिथि टुटेकाले तीज व्रतको भोलिपल्ट नै ऋषिपञ्चमी परेको छ। त्यसैले तीज व्रतको पारायण सकेपछि पञ्चमी स्नानलगायतका कर्म गर्नुपर्ने धर्मशास्त्रीहरूको मत रहेको छ।

विज्ञापन

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रत तथा पूजा महिला र पुरुष दुवैले गर्न सक्ने शास्त्रीय व्यवस्था भए पनि ऋषिपञ्चमी भने महिलाका लागि विशेष रूपमा निर्धारित पर्व हो।

विज्ञापन

परम्पराअनुसार महिलाहरूले आज बिहान नदी, खोला, ताल, तलैया वा पोखरीमा गएर ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो तथा खरानी प्रयोग गरी स्नान गर्ने गर्छन्। स्नानपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गरिन्छ। सप्तऋषिको पूजा गरिने पञ्चमी भएकाले यस दिनलाई ऋषिपञ्चमी भनिएको हो।

धार्मिक मान्यताअनुसार रजस्वलाका समयमा जान–अन्जानमा भएका छुइछुइ तथा अन्य त्रुटिबाट मुक्ति पाउन ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजा गर्ने गरिन्छ। विभिन्न धार्मिक ग्रन्थमा रजस्वलासम्बन्धी दोष निवारणका लागि ऋषिपञ्चमीमा विशेष पूजा तथा स्नान गर्नुपर्ने उल्लेख रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

ऋषिपञ्चमीको धार्मिक पृष्ठभूमि

ऋषिपञ्चमी महिलाको रजस्वलासँग जोडिएको पर्वका रूपमा परम्परादेखि मनाइँदै आएको छ। यससँग सम्बन्धित धार्मिक किम्बदन्तीअनुसार प्राचीन समयमा इन्द्रले विश्वरूपको शिर तीन टुक्रा पारी हत्या गरेपछि ब्रह्महत्याको पाप भोग्नुपरेको थियो। त्यसबाट मुक्त हुन इन्द्रले ब्रह्मासँग आग्रह गरेपछि ब्रह्माले उक्त दोषको केही अंश पृथ्वी, वृक्ष, जल र स्त्रीमा बाँडिदिएको धार्मिक विश्वास छ।

यसै धार्मिक मान्यताका आधारमा पृथ्वीमा उब्जनी नहुने उषर भूमि, वृक्षबाट खोटो, पानीमा फिँज तथा महिलामा रजस्वला हुने प्रचलन सुरु भएको किम्बदन्ती विभिन्न धार्मिक ग्रन्थमा उल्लेख रहेको पण्डित मधुसुदन सुवेदी बताउनुहुन्छ।

परम्परागत रूपमा रजस्वलाका समयमा छुइछुइ भएको भए त्यसको दोषबाट मुक्ति पाउन ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजा गर्ने विश्वास रहिआएको छ। यद्यपि रजस्वलालाई लिएर विकसित भएका कतिपय सामाजिक मान्यतालाई आधुनिक स्वास्थ्य तथा वैज्ञानिक दृष्टिकोणबाट समेत अध्ययन गर्नुपर्ने आवश्यकता रहेको सुवेदीको भनाइ छ।

ऋषिपञ्चमीका दिन स्नान तथा पूजा–आराधना गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल, कर्कलालगायतका खाद्य पदार्थ सेवन गरी एक छाक हविष्य बस्ने व्रतविधि रहेको छ।

पर्वका अवसरमा काठमाडौँको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजा–आराधनाका लागि महिला भक्तजनको भीड लाग्ने गर्छ। मन्दिर जान नसक्ने महिलाहरूले भने नदी किनार वा घरमै सप्तऋषिको पूजा–आराधना गर्ने परम्परा छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय