अर्जुनधारामा प्रथम मिलडाँडा खुला भेट्रान्स नकआउट फुटबल प्रतियोगिता हुँदै



1,306 SHARES

झापा । अर्जुनधारा नगरपालिका–११ मा प्रथम मिलडाँडा खुला भेट्रान्स नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। मिलडाँडा युवा क्लबको आयोजनामा आगामी असोज १७ गतेदेखि २४ गतेसम्म प्रगति टोलस्थित देउनिया खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्रतियोगितामा ४० वर्ष उमेर समूहभन्दा माथिका भेट्रान्स खेलाडीले सहभागिता जनाउने आयोजक मिलडाँडा युवा क्लबका अध्यक्ष नन्दलाल खतिवडाले जानकारी दिनुभयो। प्रतियोगितामा बढीमा आठ टोली सहभागी हुनेछन्।

विज्ञापन

खेलकुद क्षेत्रमा सक्रिय भेट्रान्स खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीयस्तरमा खेलकुदको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगितामार्फत स्थानीय समुदायमा आपसी भाइचारा, सद्भाव र सहकार्य अभिवृद्धि गर्दै स्वस्थ जीवनशैलीप्रति प्रेरित गर्ने लक्ष्यसमेत राखिएको छ।

विज्ञापन

प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। फाइनल खेलमा विभिन्न विधातर्फ उत्कृष्ट हुने गोलकिपर, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही नगद ३५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ। उत्कृष्ट प्रशिक्षकलाई समेत नगद ३ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।

प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद २ हजार र ट्रफीसिहत ‘प्लेयर अफ द म्याच’को पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख ९० हजार २ सय २२ रुपैयाँ अनुमानित बजेट प्रस्ताव गरिएको छ।

प्रतियोगिताका लागि खेलमैदान तयारी तथा व्यवस्थापन, खेलकुद सामग्री, खेलाडी पोसाक, रेफ्री तथा प्राविधिक व्यवस्थापन, चिकित्सकीय सेवा, सुरक्षा, प्रचारप्रसार, उद्घाटन तथा समापन कार्यक्रम र फोटो–भिडियो तथा प्रत्यक्ष प्रसारणलगायतका शीर्षकमा खर्च गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताले अर्जुनधारा नगरपालिकामा खेलकुद गतिविधिको विकास र विस्तारमा योगदान पुर्‍याउनुका साथै स्थानीय तथा बाह्य खेलाडीबीच सम्बन्ध र सहकार्य विस्तार हुने आयोजकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय