इलाम । इलाम–झापा द्रुतमार्गअन्तर्गत मेची कोरिडोरमा पर्ने पुवा खोलामा निर्माण गरिएको ७० मिटर लामो मोडुलर पुलको भार परीक्षण सफल भएको छ।
सडक डिभिजन कार्यालय इलामका अनुसार ७० मिटर अर्थात् करिब २३० फिट लामो मोडुलर पुल जडान गर्ने कार्य सम्पन्न भएसँगै शुक्रबार पुलको भार परीक्षणसमेत सफलतापूर्वक सम्पन्न गरिएको हो।
पुलको एकतर्फको पछाडिको पर्खाल ढलान कार्य सम्पन्न भइसकेको छ भने अर्कोतर्फको पर्खाल ढलान कार्य भइरहेको कार्यालयले जनाएको छ। बाँकी काम सम्पन्न गरी आगामी केही दिनभित्रै उक्त पुलबाट सवारी आवागमन सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
मोडुलर पुलको अधिकतम भारवहन क्षमता ३० टन रहेको भन्दै सडक डिभिजन कार्यालयले पुलको संरचनागत सुरक्षा र दीर्घकालीन स्थायित्वका लागि एक पटकमा एउटा मात्र सवारीसाधन पुलमा प्रवेश गराउने व्यवस्था अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ।
यसअघि निर्माण सम्पन्न भई सञ्चालनमा रहेको माइखोला (बेलासे) स्थित मोडुलर पुलमा पनि एक पटकमा एउटा मात्र सवारीसाधन प्रवेश गराउने व्यवस्था गरिएको थियो। पुलको दुवैतर्फ सूचना बोर्ड राखिए पनि एकै समयमा एकभन्दा बढी सवारीसाधन पुलमा प्रवेश गरेको पाइएको कार्यालयले जनाएको छ।
एकैपटक धेरै सवारीसाधन पुलमा प्रवेश गर्दा संरचनामा अनावश्यक भार पर्नुका साथै जोखिम बढ्न सक्ने भएकाले पुवा खोला र माइखोला (बेलासे) दुवै मोडुलर पुलमा ३० टनभन्दा बढी भार भएका सवारीसाधन प्रवेश नगराउन कार्यालयले आग्रह गरेको छ।
त्यस्तै, दुवै पुलमा एक पटकमा एउटा मात्र सवारीसाधन प्रवेश गर्ने व्यवस्था कडाइका साथ पालना गर्न सवारी चालक, यातायात व्यवसायी तथा सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरिएको छ। पुलको सुरक्षित सञ्चालन, संरचनागत सुरक्षा तथा दीर्घकालीन उपयोग सुनिश्चित गर्न सबै पक्षबाट आवश्यक सहयोग र समन्वयको अपेक्षा गरिएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ।
प्रतिक्रिया दिनुहोस ।
+1
+1
+1
+1
+1










