|
1,006 SHARES |
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजना क्षेत्रमा ठूलो मानवीय जोखिम निम्तिएको छ। बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका तथा कार्यरत ८९८ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। ती आयोजनामा कार्यरत तथा फसेका व्यक्तिमध्ये हालसम्म ३६१ जनाको जीवितै उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये ठूलो संख्या २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कर्मचारी तथा श्रमिक रहेका छन्। इप्पानका अनुसार उक्त आयोजनाबाट मात्रै २५४ जनाको उद्धार गरिएको छ।
तर, आयोजनाको सुरुङभित्र अझै करिब ३०० जना फसेको अनुमान गरिएको छ। उनीहरूको उद्धारका लागि चीनबाट समेत विज्ञहरूको टोली नेपाल आइपुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
त्यस्तै, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट १८ जना र ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी आयोजनाबाट ९१ जनाको जीवितै उद्धार गरिएको छ।
यी आयोजनाबाट उद्धार गरिएका व्यक्तिसहित हालसम्म ३६१ जनाको उद्धार भएको इप्पानले जनाएको छ। तर, ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले जलविद्युत् आयोजना क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र पारिएको छ।










