|
696 SHARES |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् व्यवस्थापन तथा बाढीबाट भएको क्षतिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ।
रास्वपा सभापति रवि लामिछानेले बिहीबार बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक आह्वान गरेका हुन्।
बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनमा जनधन तथा मानवीय क्षति भएको छ।
बाढीबाट भएको क्षति, उद्धार तथा राहत व्यवस्थापन र आगामी दिनमा अपनाउनुपर्ने विपद् तयारीका विषयमा बैठकमा छलफल हुने जनाइएको छ।
रास्वपाले विपद्को सामना गर्न सबै राजनीतिक दल तथा सरोकारवाला पक्षसँग छलफल गर्दै आगामी दिनको विपद् तयारीमा एकजुट हुने उद्देश्यले बैठक बोलाएको बुझिएको छ।










