|
689 SHARES |
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडामा स्थानीयवासीले फेरि विरोध सुरु गरेका छन्। फोहोर व्यवस्थापनमा लापरबाही भएको र विगतमा गरिएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर बोकेर आएका सवारीसाधन एक घण्टासम्म रोकेका हुन्।
स्थानीयको नेतृत्व गरिरहेको सिसडोल–बञ्चरेडाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रले सरकार तथा सम्बन्धित निकायलाई माग पूरा गर्न १५ दिनको समय दिएको छ। उक्त अवधिमा माग सम्बोधन नभए बञ्चरेडाँडामा फोहोर विसर्जन पूर्ण रूपमा रोक्ने चेतावनी केन्द्रले दिएको छ।
केन्द्रका अध्यक्ष निरञ्जन सञ्जेलका अनुसार वैज्ञानिक र व्यवस्थित ढंगले फोहोर व्यवस्थापन नहुँदा बञ्चरेडाँडाका बासिन्दा दुर्गन्ध, प्रदूषण र स्वास्थ्य समस्याबाट प्रभावित भइरहेका छन्।
स्थानीयले प्रभावित क्षेत्रको जग्गा अन्तर्राष्ट्रिय मापदण्डअनुसार अधिग्रहण गर्नुपर्ने, फोहोरबाट निस्कने लिच्चेडको उचित व्यवस्थापन गर्नुपर्ने तथा स्थानीयको स्वास्थ्य र शिक्षाका लागि विशेष व्यवस्था गर्नुपर्ने माग राखेका छन्। त्यसैगरी स्थानीयका लागि रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
बञ्चरेडाँडा ल्यान्डफिल साइटमा कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन नगरिँदा समस्या थप जटिल बनेको स्थानीयको भनाइ छ। फोहोरबाट निस्किएको लिच्चेड बगेर खोलामा मिसिन थालेको र त्यसको व्यवस्थापनका लागि बनाइएको संरचनासमेत भरिएको उनीहरूको दाबी छ।
२० वर्षका लागि निर्माण गरिएको ल्यान्डफिल साइटमा फोहोरको थुप्रो बढ्दै गएपछि बञ्चरेडाँडा पनि पुरानो सिसडोलकै अवस्थामा पुग्न थालेको स्थानीयको गुनासो छ।
धादिङको धुनीबेँसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सीमामा रहेको बञ्चरेडाँडामा चार वर्षदेखि फोहोर विसर्जन हुँदै आएको छ। त्यसअघि १७ वर्षसम्म सिसडोलमा उपत्यकाको फोहोर फालिँदै आएको थियो।
फोहोरका कारण क्यान्सर, मुटु, मिर्गौलालगायत गम्भीर रोगका साथै झाडापखाला, टाइफाइड, श्वासप्रश्वास र छालासम्बन्धी समस्या बढेको स्थानीयको दाबी छ। फोहोर व्यवस्थापनको असर कृषि उत्पादन र पशुपक्षी पालनमा समेत परेको उनीहरूले बताएका छन्।
काठमाडौं उपत्यकासहित २१ वटा स्थानीय तहको फोहोर बञ्चरेडाँडा क्षेत्रमा विसर्जन हुँदै आएको छ। स्थानीयको चेतावनीअनुसार माग सम्बोधन नभए आगामी दिनमा उपत्यकाको फोहोर व्यवस्थापनमै समस्या उत्पन्न हुन सक्ने देखिएको छ।










