काठमाडौं । जिल्ला अदालत ललितपुरले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिन अस्वीकार गरेको छ ।
उपसभामुख रुवीकुमारी ठाकुरको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार श्रेष्ठविरुद्ध पक्राउ पूर्जी माग गर्दै अदालतमा निवेदन दिएको थियो । तर, अदालतले पक्राउ पूर्जी जारी गर्न अस्वीकार गरेको हो ।
उपसभामुख ठाकुरले सोमबार श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिनुभएको थियो । जाहेरीमा श्रेष्ठले ‘जनआस्था’को फेसबुक पेज तथा अनलाइनमार्फत आफ्नो व्यक्तिगत तस्बिर, मर्यादा र संवैधानिक ओजमा आँच पुर्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने नियतले भ्रामक, असत्य र निन्दनीय समाचार प्रकाशित गरेको आरोप लगाइएको छ ।
प्रकाशित समाचारका कारण आफ्नो व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा गहिरो चोट पुगेको ठाकुरको दाबी छ । समाचारमा जोडिएका पुरुष आफूले रक्षाबन्धन बाँधेका दाजु रहेको उल्लेख गर्दै आफूलाई ती पुरुषसँग अनैतिक सम्बन्ध रहेको आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास गरिएको उहाँको जाहेरीमा उल्लेख छ ।
यसअघि अर्की युवतीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई जोडेर प्रकाशित समाचारको विषयमा पनि श्रेष्ठ पक्राउ परेका थिए । वैयक्तिक गोपनीयता हननको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेशपछि रिहा भएका श्रेष्ठविरुद्ध लगत्तै उपसभामुख ठाकुरको जाहेरीका आधारमा पुनः पक्राउ पूर्जी माग गरिएको थियो । तर, जिल्ला अदालत ललितपुरले उक्त माग अस्वीकार गरेको हो ।










