|
684 SHARES |
झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई पद र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्न आग्रह गर्नुभएको छ।
झापाको बिर्तामोडमा आइतबार आयोजित ‘मिसन पार्टी जागरण अभियान–२०८३’को उद्घाटन गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री वा पार्टी अध्यक्ष बन्ने उद्देश्यले राजनीतिमा नआएको बताउनुभयो।
“देश बनाउन हिँडेका हौँ। देशका लागि काम गर्न लागेका छौँ। देश बनाउन हामी हिँड्नुपर्छ,” उहाँले भन्नुभयो।
ओलीले राजनीतिमा व्यक्तिगत लाभ र पद प्राप्तिको सोच राख्न नहुने बताउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। नेता–कार्यकर्ताले आफूले के प्राप्त गर्नेभन्दा देश र जनतालाई के दिन सकिन्छ भन्ने सोच्नुपर्ने उहाँको भनाइ थियो।
यसैबीच, अध्यक्ष ओलीले एमालेको पुनर्गठन तथा नेतृत्व परिवर्तनका विषयमा चलाइएका चर्चा निरर्थक भएको दाबी गर्नुभयो। “पार्टी पुनर्गठन र नेतृत्व हटाउन बेतुकको हल्ला हो। यो सम्भव र आवश्यक छैन,” उहाँले भन्नुभयो।
विगतमा आन्दोलन संकटमा पर्दा तीन पटक पार्टी तथा कम्युनिस्ट आन्दोलन पुनर्गठन भएको स्मरण गर्दै ओलीले अहिले त्यस्तो आवश्यकता नरहेको बताउनुभयो।
कार्यक्रममा उहाँले पार्टी संगठनलाई थप सुदृढ र सक्रिय बनाउँदै देश तथा जनताको पक्षमा प्रभावकारी रूपमा अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो।
एमाले झापा अध्यक्ष प्रेम गिरीका अनुसार ‘मिसन पार्टी जागरण अभियान–२०८३’को उद्देश्य पार्टी संगठनलाई थप सक्रिय बनाउनुका साथै कार्यकर्तामाझ राजनीतिक जागरण अभिवृद्धि गर्नु हो। कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।










