काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको बचाउ गर्दै सांसदहरूलाई न्यायाधीश नबन्न चेतावनी दिएका छन्।
शुक्रबार कानून समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले कुनै व्यक्तिविरुद्ध उजुरी पर्दैमा त्यसकै आधारमा निष्कर्ष निकाल्न नमिल्ने बताए। आरोप पुष्टि नभएसम्म कसैको चरित्रहत्या गर्न नहुने उनको भनाइ थियो।
‘उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन। आरोप जोसुकैलाई लाग्यो भन्दैमा चरित्रहत्या गर्न पाइँदैन,’ उनले भने।
गृहमन्त्री गुरुङले आईजीपी कार्कीसहितका कर्मचारी सरकारको निर्देशनअनुसार काम गर्न खटिएको दाबी गरे। आरोप लगाउन जोसुकैले सक्ने भए पनि त्यसको पुष्टि आवश्यक रहेको उनले बताए।
‘यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ। आईजीसहित कर्मचारी सरकारको स्पिरिटमा काम गर्न खट्नुभएको छ। आरोप लगाउन जोसुकैले लगाउन सके,’ उनले भने।
उनले आरोप पुष्टि नभएसम्म त्यसका आधारमा कारबाही वा निष्कर्षमा पुग्न नमिल्ने बताउँदै विषय गम्भीर भएकाले आफूलाई समेत असहज लागेको उल्लेख गरे।










