बिर्तामोड। जलस्रोत संरक्षण, हरित वातावरण विस्तार तथा पर्यटकीय सम्भावना विकास गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिका–२ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत रहेको मिश्रटारको रिचार्ज पोखरी परिसरमा १,५०० वटा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएका छन्।
मदन भण्डारी राजमार्गबाट नजिकै रहेको उक्त क्षेत्रलाई दीर्घकालीन रूपमा हरियालीयुक्त तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित रोटरी क्लब अफ बिर्तामोडले वृक्षरोपण अभियान सञ्चालन गरेको हो। कार्यक्रम अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन तामाङको विशेष पहलमा सम्पन्न भएको थियो।
वृक्षरोपण कार्यक्रममा बोल्दै नगरप्रमुख गोम्देनले वातावरण संरक्षण कुनै एक निकायको मात्र दायित्व नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै जलस्रोत संरक्षण र हरियाली प्रवर्द्धनका यस्ता अभियानलाई नगरपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे।
रोटरी डिष्ट्रिक्ट ३२९२ ले चालु वर्षभित्र एक लाख बिरुवा रोप्ने अभियान सञ्चालन गरिरहेको सन्दर्भमा रोटरी क्लब अफ बिर्तामोडले आफ्नो प्राथमिक कार्यक्रमअन्तर्गत शान्ति सामुदायिक वनको रिचार्ज पोखरी क्षेत्रमा १,५०० बिरुवा रोपेको जनाएको छ।
रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष दीपक गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शान्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र कोइरालाले रिचार्ज पोखरीको संरक्षणसँगै त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको बताए। उनले मदन भण्डारी राजमार्गबाट सहज पहुँच रहेको यस क्षेत्रलाई भविष्यमा पर्यटक आकर्षित गर्ने गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको र वृक्षरोपण अभियानले त्यस योजनालाई थप बल पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाको वातावरण शाखाकी प्रमुख सपना रिमाल, मानव–हात्ती द्वन्द्व न्यूनीकरण अर्जुनधारा नगर समितिका अध्यक्ष ढुन्डिराज गौतम, शान्ति, जुकेखाडी, सुखानी र हचुमासा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्य, रोट्र्याक्ट क्लब अफ बिर्तामोडका प्रतिनिधि तथा रोटरी क्लब अफ मेचीनगर, काँकडभिट्टा, भद्रपुर र सुरुङ्गाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
यस अवसरमा रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष अर्जुन बोहोरा र रोटरी क्लब अफ काँकडभिट्टाकी अध्यक्ष लक्ष्मीदेवी खनियाले वातावरण संरक्षण र प्राकृतिक स्रोतको दीगो व्यवस्थापनका लागि सामूहिक सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रमका संयोजक तथा एजी नवीन गट्टानीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन रोटरी क्लब अफ बिर्तामोडका सचिव शैलेन्द्र कुरुङवाङले गरेका थिए।
सहभागीहरूले रिचार्ज पोखरी आसपास गरिएको वृक्षरोपणले जलस्रोत संरक्षण, जैविक विविधताको संवर्द्धन, वन्यजन्तुको बासस्थान संरक्षण तथा स्थानीय समुदायमा वातावरणीय सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।










