समाचारको प्रभाव : स्थानीयले धान रोपेको सडकको तत्काल मर्मतमा जुट्यो अर्जुनधारा नगरपालिका, स्थानीयले दिए धन्यवाद

झापा । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित गाँजाबारीमा जीर्ण सडकको अवस्थाबारे खबरखेतीमा समाचार प्रकाशित भएको केही समयमै अर्जुनधारा नगरपालिकाले सडक मर्मतको काम सुरु गरेको छ। नगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने तथा आवागमन सहज बनाउने कार्य अघि बढाएको हो।

यसअघि अत्यधिक हिलो र खाल्डाखुल्डीका कारण यात्रा गर्नै कठिन बनेपछि अर्जुनधारा–२ का स्थानीयले मदनभण्डारी राजमार्गबाट लाप्चेटार–बदमटार हुँदै इलामका विभिन्न स्थान जोड्ने सडकमा सांकेतिक रूपमा धान रोपेर विरोध जनाएका थिए। बर्खायाम सुरु भएसँगै सडक जीर्ण बनेपछि सवारी साधन सञ्चालन तथा सर्वसाधारणको आवतजावतमा समस्या भएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।

विज्ञापन

समाचार प्रकाशित भएपछि अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन तामाङ स्वयं स्थलगत निरीक्षणमा पुगेका थिए। उनले सडकको अवस्था अवलोकन गर्दै तत्काल खाल्डाखुल्डी पुरी सडकलाई आवागमनयोग्य बनाउन सम्बन्धित शाखालाई निर्देशन दिएका थिए। निर्देशनसँगै नगरपालिकाको व्यवस्थापनमा सडक मर्मतको काम सुरु गरिएको हो।

विज्ञापन

स्थलगत निरीक्षणका क्रममा नगरप्रमुख गोम्देनले स्थानीयले जनप्रतिनिधि वा नगरपालिकालाई समयमै जानकारी गराएको भए सडकको मर्मत कार्य यसअघि नै सम्पन्न हुने बताएका थिए। स्थानीय सरकार नागरिकका समस्याप्रति सधैं जिम्मेवार र संवेदनशील रहेको उल्लेख गर्दै उनले गाउँ, टोल तथा नगर क्षेत्रभित्र देखिएका समस्या तत्काल स्थानीय सरकारको ध्यानमा ल्याउन सबै नागरिकलाई आग्रह गरे।

नगरप्रमुखकै उपस्थितिमा सडक मर्मतको काम सुरु भएपछि स्थानीयवासी हर्षित भएका छन्। उनीहरूले सडकको समस्या समाधानका लागि नगरपालिकाले देखाएको तत्परताको प्रशंसा गर्दै नगरप्रमुख बलदेव सिंह गोम्देन तामाङ तथा अर्जुनधारा नगरपालिकाप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

स्थानीयले सडकको दीर्घकालीन स्तरोन्नति गरी वर्षायाममा हुने सास्ती स्थायी रूपमा अन्त्य गर्नसमेत नगरपालिकासँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय