सुनसरी गोलीकाण्डबारे गृहमन्त्रीको राजीनामा माग, निष्पक्ष छानबिनको आग्रह



711 SHARES

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्ने भन्दै तत्काल पदबाट राजीनामा दिन माग गरेका छन्।

श्रावण सोमबार स्नानका लागि गइरहेका युवा ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै हमालले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

विज्ञापन

उनले नागरिकमाथि घातक बल प्रयोग हुनु लोकतान्त्रिक राज्यका लागि गम्भीर विषय भएको उल्लेख गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न सरकारसँग माग गरेका छन्। भीड व्यवस्थापनका क्रममा सुरक्षाकर्मीले संयम, संवाद, कानुनी मापदण्ड तथा गैरघातक उपकरणको प्रयोगलाई प्राथमिकता दिनुपर्ने भए पनि नागरिकमाथि प्रत्यक्ष गोली चलाइनु कुनै पनि सभ्य लोकतन्त्रमा स्वीकार्य नहुने उनको भनाइ छ।

विज्ञापन

हमालले जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको घातक बल प्रयोगको प्रसंग स्मरण गर्दै राज्यले नागरिकप्रति अपनाउने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन्। शान्ति स्थापना गर्ने नाममा गोलीलाई पहिलो विकल्प बनाउने प्रवृत्ति लोकतान्त्रिक मूल्य, मानवअधिकार र विधिको शासनविपरीत रहेको उनको आरोप छ।

नागरिकमाथि अन्धाधुन्ध गोली चलाएर न शान्ति स्थापना हुने न राज्यप्रति जनविश्वास बढ्ने भन्दै उनले सुरक्षा निकायको जिम्मेवारी नागरिकको जीवन रक्षा गर्नु भएको उल्लेख गरेका छन्। बल प्रयोगलाई अन्तिम विकल्पका रूपमा मात्र अपनाउनुपर्ने उनको धारणा छ।

हमालले घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले स्वीकार गरी पदबाट राजीनामा दिनुपर्ने, घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिलाउनुपर्ने माग गरेका छन्। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रको कार्यशैली, भीड व्यवस्थापन प्रणाली र जवाफदेहिता सुधार गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय