स्थानीय विद्यार्थीको प्रतिभालाई सम्मान गर्दै ‘हली’ चलचित्र हेर्न विद्यालयलाई शिवसताक्षी नगरपालिकाको आग्रह



753 SHARES

झिलझिले । शिवसताक्षी नगरपालिकाले आफ्नै नगरका एक विद्यार्थीको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले नगरभित्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयलाई नेपाली कथानक चलचित्र ‘हली’ अवलोकन गराउन आग्रह गरेको छ।

नगरपालिकाको शिक्षा शाखाले साउन ६ गते जारी गरेको पत्रमार्फत साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘हली’ हेर्न विद्यार्थी तथा शिक्षकलाई सहजीकरण गरिदिन अनुरोध गरेको हो।

विज्ञापन

नगरपालिकाका अनुसार चलचित्र निर्माण टोलीमा शिवसताक्षी–२ निवासी तथा पशुपति एकेडेमी झिलझिलेमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय विद्यार्थी सुसन भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। आफ्नै नगरका विद्यार्थी राष्ट्रियस्तरको चलचित्रमा देखिनु गौरवको विषय भएकाले अन्य विद्यार्थीले पनि उनको प्रतिभाबाट प्रेरणा लिन सकून् भन्ने उद्देश्यले विद्यालयसँग सहकार्यको अपेक्षा गरिएको जनाइएको छ।

विज्ञापन

शिक्षा शाखाले जारी गरेको पत्रमा चलचित्रले छाउपडी प्रथा, कृषि, नैतिकता, सामाजिक जिम्मेवारी तथा जीवनका विविध पक्षलाई समेट्दै सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरिएको छ। यस्ता विषयवस्तुले विद्यार्थी, अभिभावक र समाजमा सकारात्मक चेतना फैलाउने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

नगरपालिकाको यस पहललाई स्थानीय प्रतिभाप्रतिको सम्मान र हौसलाका रूपमा हेरिएको छ। आफ्नै विद्यालय र नगरका विद्यार्थीको राष्ट्रिय चलचित्रमा रहेको योगदानलाई सम्मान गर्दै अन्य विद्यार्थीलाई पनि सिर्जनात्मक तथा कलात्मक क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने उद्देश्यले विद्यालयहरूलाई चलचित्र अवलोकन गराउन आग्रह गरिएको हो।

साथै, विद्यार्थीका लागि चलचित्रको टिकट खरिदमा विशेष छुटको व्यवस्था गरिएको शिक्षा शाखाले जनाएको छ। यसबाट धेरैभन्दा धेरै विद्यार्थीले चलचित्र हेर्ने अवसर पाउने विश्वास नगरपालिकाले लिएको छ।

स्थानीय तहले आफ्नै विद्यार्थीको उपलब्धिलाई सार्वजनिक रूपमा सम्मान गर्दै विद्यालयमार्फत प्रोत्साहन गर्ने यस्तो पहलले अन्य विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता र नयाँ क्षेत्रमा अघि बढ्ने प्रेरणा जगाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय