|
1,131 SHARES |
झापा । बाह्रदशी गाउँपालिकाले खुला प्रतिस्पर्धामार्फत छनोट गरेका प्रधानाध्यापकमध्ये गौरीशंकर माध्यमिक विद्यालय, डाँगीबारीका प्रधानाध्यापक लेखनाथ कटुवालको औपचारिक पदस्थापन गरिएको छ। यससँगै विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति तथा अभिभावक–शिक्षक संघ (पीटीए) समेत गठन गरिएको छ।
बाह्रदशी गाउँपालिका–७ स्थित विद्यालयमा आयोजित कार्यक्रममा वडा नं. ७ का कार्यवाहक अध्यक्ष फेदुलाल राजवंशीले नवनियुक्त प्रधानाध्यापक कटुवाललाई पदस्थापन गराउँदै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रभावकारी नेतृत्वको अपेक्षा व्यक्त गर्नुभयो। सो अवसरमा नवगठित विद्यालय व्यवस्थापन समितिलाई स्वागत तथा बधाईसमेत दिइएको थियो।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सागर माझी चयन भएका छन्। समितिका सदस्यमा शान्ति राजवंशी, विष्णु राजवंशी र मन्सा मुर्मू रहेका छन् भने सदस्य–सचिवको जिम्मेवारी प्रधानाध्यापक लेखनाथ कटुवालले सम्हाल्नेछन्।
यस्तै, अभिभावक–शिक्षक संघमा अनिता लुवागुन, इन्द्रवती राजवंशी, गायत्रा चापागाई, मीरा सुवेदी, विष्णु अधिकारी र अरुण कामते चयन भएका छन्।
विद्यालयका सहायक प्रधानाध्यापक हेम राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका रुपा कुमारी राईले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा विद्यालयका जग्गादाता राजु राजवंशी, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रबहादुर राई, लेखा संयोजक नारायण लम्साल, फूलबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक लोचनकुमार गुरागाईंले गर्नुभएको थियो।
बाह्रदशी गाउँपालिकाले हालै प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधि–२०८२ बमोजिम खुला प्रतिस्पर्धाबाट १६ जना प्रधानाध्यापक छनोट गरी करार सम्झौतासहित नियुक्तिपत्र प्रदान गरेको थियो। शैक्षिक योग्यता, तालिम, कार्यअनुभव तथा विद्यार्थीको शैक्षिक उपलब्धिलगायतका सूचकका आधारमा गरिएको छनोटलाई सामुदायिक विद्यालयमा पारदर्शिता, प्रतिस्पर्धा र गुणस्तरीय नेतृत्व विकासतर्फको महत्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ।
खुला प्रतिस्पर्धाबाट नियुक्त भएका लेखनाथ कटुवालको गौरीशंकर माध्यमिक विद्यालयमा भएको पदस्थापनलाई गाउँपालिकाले लागू गरेको नयाँ प्रधानाध्यापक छनोट प्रणालीको व्यवहारिक कार्यान्वयनको पहिलो उदाहरणका रूपमा समेत लिइएको छ।










