|
688 SHARES |
काठमाडौं । कपिलवस्तु जिल्ला अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
कपिलवस्तु–३ बाट निर्वाचित सांसद शाहविरुद्ध कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि भएको कुटपिट घटनामा अनुसन्धानका लागि अदालतले बिहीबार पक्राउ अनुमति दिएको हो।
प्रहरीका अनुसार घटनासम्बन्धी जाहेरीका आधारमा सांसद शाहविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ। कपिलवस्तु प्रहरीका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले कुटपिट मुद्दामा अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।
पीडित सीताराम शर्माले सांसद शाह, कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाह तथा १५–२० जनाको समूहले आफ्नो निवासमा प्रवेश गरी अन्धाधुन्ध कुटपिट गरेको आरोप लगाएका छन्।
यसअघि घटनामा संलग्न व्यक्तिविरुद्ध जाहेरी दर्ता गर्न जाँदा प्रहरीले आलटाल गरेको भन्दै पीडित पक्षले गुनासोसमेत गरेको थियो। अब अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाउने भएको छ।










