|
694 SHARES |
काठमाडौं । मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रकरणमा संघीय सरकार, स्थानीय सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य तथा निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। उक्त समितिले सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन बुझाउनेछ।
सहमतिमा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा गणेश नेपालीलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।
त्यसैगरी, घटनाका दिन त्रिपुरेश्वर क्षेत्रमा खटिएका महानगर प्रहरीका कर्मचारीलाई तत्कालका लागि निलम्बन गरी छानबिन प्रतिवेदनका आधारमा आवश्यक थप कारबाही गरिने सहमति भएको छ।
पीडित परिवारलाई राहतस्वरूप मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा महानगरपालिकामा रोजगारी उपलब्ध गराइने, छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यवस्थापन गरिने तथा आगामी कार्यपालिका बैठकबाट उचित राहत रकम उपलब्ध गराइने सहमतिमा उल्लेख छ।
यस्तै, गणेश नेपालीको अन्त्येष्टिको सम्पूर्ण व्यवस्था, आफन्तको यातायात तथा काठमाडौं बसाइ खर्च, शव बुझ्ने र पोस्टमार्टमलगायत कानुनी प्रक्रिया सहज बनाउने जिम्मेवारी पनि सम्बन्धित निकायले लिने भएका छन्।
साथै, परिवारका सदस्यहरूको स्वास्थ्य बीमाको व्यवस्था गर्ने जिम्मेवारी संघीय सरकार र स्थानीय सरकार (महानगरपालिका) ले लिने सहमतिमा उल्लेख गरिएको छ।










