९५० रुपैयाँको अन्तरले बढायो असन्तुष्टिु तर, नगर प्रमुख ‘पोजेटिभ’



679 SHARES

विनोद सापकोटा
शिवसताक्षी, असार २३ ।
शिवसताक्षी नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय लेखापाल (विद्यालय सहायक) कर्मचारीले पारिश्रमिकमा भएको असमानताप्रति गम्भीर असन्तुष्टि जनाउँदै नगरप्रमुख मेगाहाङ थोप्रासँग उनकै कार्यकक्षमा प्रत्यक्ष भेटेर पारिश्रमिक पुनरावलोकनको माग राखेका छन्। उनीहरूले शिक्षा शाखा प्रमुख छवि ढकाललाई पनि भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।

लेखापालहरूको भनाइमा एउटै विद्यालयमा फरक जिम्मेवारी, फरक योग्यता र फरक कार्यबोझ भएका कर्मचारीबीच तलबको अन्तर अहिले जम्मा ९५० रुपैयाँमा सीमित भएको छ। यसले आफूहरूको पेशागत सम्मानमा समेत असर परेको उनीहरूको गुनासो छ।

विज्ञापन

लेखापालहरूले यसअघि पनि नगरप्रमुख र शिक्षा शाखामा ज्ञापनपत्र बुझाएका थिए। शिक्षक महासङ्घले नगरपालिकालाई बुझाएको ज्ञापनपत्रमा समेत उनीहरूको माग समेटिएको थियो। तर आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा माग समावेश भए–नभएको स्पष्ट जानकारी नपाएपछि उनीहरू पुनः नगरपालिका पुगेका हुन्। नगरभित्र विद्यालय लेखापालको स्वीकृत दरबन्दी १२ रहेको छ। दुई जनाले अनिवार्य अवकाश पाएपछि हाल १० जना मात्र कार्यरत छन्। हाल संघीय सरकारले विद्यालय लेखापाललाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। शिवसताक्षी नगरपालिकाले थप ५ हजार ५ सय रुपैयाँ उपलब्ध गराएपछि उनीहरूको मासिक पारिश्रमिक २० हजार ५ सय रुपैयाँ पुगेको छ।

विज्ञापन

यता विद्यालय सहयोगी कर्मचारीले संघीय सरकारबाट १० हजार रुपैयाँ र स्थानीय तहबाट ७ हजार रुपैयाँ पाउँदै आएका थिए। पछि संघीय सरकारले उनीहरूको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० रुपैयाँ कायम गर्न स्थानीय तहलाई निर्देशन दिएपछि लेखापाल र सहयोगी कर्मचारीबीचको तलब अन्तर जम्मा ९५० रुपैयाँमा झरेको हो।

लेखापालहरूको स्पष्ट भनाइ छ, ‘विद्यालय सहयोगी कर्मचारीको तलब धेरै भयो भन्ने हाम्रो भनाइ होइन, हाम्रो तलब जिम्मेवारी र योग्यताअनुसार हुनुपर्छ भन्ने हो।’ विद्यालय लेखापाल पदका लागि कक्षा १२ उत्तीर्ण, कम्प्युटरसम्बन्धी ज्ञान तथा लेखा विषयमा दक्षता अनिवार्य छ। यो योग्यता पाँचौँ तहसरह मानिए पनि पाँचौँ तहका कर्मचारीले पाउने पारिश्रमिकभन्दा आफूहरू निकै पछि परेको उनीहरूको भनाइ छ। हाल पाँचौँ तहका कर्मचारीले मासिक ३४ हजार ७३० रुपैयाँ तलब पाउँदा विद्यालय लेखापालले २० हजार ५ सय रुपैयाँ मात्र पाउँदै आएका छन्।

भानु माध्यमिक विद्यालय, शिवसताक्षी–७ लालझोडाका विद्यालय लेखापाल गणेशप्रसाद ढुङ्गेलले समान विद्यालयमा धेरै जिम्मेवारी वहन गर्ने कर्मचारीको तलब कार्यालय सहयोगीसरह हुनु न्यायोचित नभएको बताए। 

यता नगरप्रमुख मेगाहाङ थोप्राले लेखापालहरूको मागलाई जायज र व्यवहारिक भएको स्वीकार गरेका छन्। शिक्षा शाखासँग समन्वय गरेर आवश्यक स्रोत व्यवस्थापन गरी आगामी साउन महिनादेखि नै माग सम्बोधन गर्ने गरी तयारी भइरहेको उनले बताए।

उनका अनुसार विद्यालय लेखापालको पारिश्रमिक वृद्धि गर्न नगरपालिकालाई वार्षिक करिब ४ लाख रुपैयाँ मात्र थप व्ययभार पर्नेछ। नगर शिक्षा अधिकारी छवि ढकालले पनि लेखापालहरूको गुनासो उचित रहेको बताए। कानुनी र प्राविधिक पक्ष अध्ययन गरेर समाधान खोज्ने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

नगरपालिकाका प्रमुख पदाधिकारीबाट सकारात्मक प्रतिबद्धता आएपछि विद्यालय लेखापालहरू आशावादी बनेका छन्। योग्यता, जिम्मेवारी र कार्यबोझअनुसारको पारिश्रमिक आगामी आर्थिक वर्षदेखि नै सुनिश्चित हुने विश्वास उनीहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय