झापामा गृहमन्त्री गुरुङको १३ घण्टा दौडधुप, यी हुन् प्रमुख गतिविधि



699 SHARES

झापा । झापाको अनुगमनका लागि आएका गृहमन्त्री सुधन गुरुङ सोमबार दिनभरि अनुगमन र निरीक्षणमा व्यस्त रहे। उनले मेची भन्सार, काँकडभिट्टा र भद्रपुर सीमा नाका, हात्ती प्रभावित बाहुनडाँगी, जिल्ला कारागार, इलाका प्रहरी कार्यालय नकलबन्दा, सशस्त्र प्रहरी बल नेपाल बिओपी नकलबन्दा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय झापालगायत सार्वजनिक सरोकारका विभिन्न स्थानको स्थलगत अनुगमन गरेका हुन्।

आइतबार राति झापा आइपुगेका गृहमन्त्री गुरुङ अर्जुनधारा–११ स्थित सालबारी हेरिटेज भिल्लामा बसेका थिए। सोमबार बिहान करिब १० बजेदेखि राति ११ बजेसम्म उनी निरन्तर अनुगमनमा खटिएका थिए।

विज्ञापन

गृहमन्त्री गुरुङका प्रमुख गतिविधि
बिहान ९ः१० बजे सालबारी हेरिटेज भिल्लामा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल २ नम्बर गण मुख्यालयका सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी तथा राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख उप–अनुसन्धान निर्देशक उमेश पाण्डेसँग भेटघाट गरे।
बिहान १०ः१५ बजे हात्ती प्रभावित क्षेत्रको अनुगमनका लागि सालबारीबाट प्रस्थान गरे।
बिहान १०ः५५ बजे बुद्धशान्ति–६ सन्तपुर पुगेर जेनजी आन्दोलनका घाइते अनिकेत चौलागाईंको स्वास्थ्य अवस्थाबारे जानकारी लिए।
बिहान ११ः४५ बजे काँकडभिट्टा सीमा नाका तथा यात्रु जाँच कक्षको निरीक्षण गरे।
दिउँसो १२ः०८ बजेदेखि मेची भन्सार कार्यालयको निरीक्षण गर्दै सर्वसाधारणका गुनासा सुने। भन्सारका कर्मचारी र सुरक्षाकर्मीलाई नाकाको व्यवस्थापन सहज बनाउन तथा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन निर्देशन दिए।
काँकडभिट्टा बजार र बसपार्क क्षेत्रको निरीक्षणका क्रममा भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधनलाई जथाभावी पार्किङ गर्न नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईसहित सुरक्षाकर्मीलाई निर्देशन दिए।
दिउँसो २ः३६ बजे मेचीनगर–४ बाहुनडाँगीस्थित हात्ती प्रभावित क्षेत्रतर्फ प्रस्थान गरे।
दिउँसो २ः४५ बजेदेखि इलाका प्रहरी कार्यालय नकलबन्दा र सशस्त्र प्रहरी बल नेपाल बिओपी नकलबन्दाको निरीक्षण गरे।
दिउँसो ४ बजेदेखि बाहुनडाँगीमा हात्ती प्रभावित क्षेत्र तथा हात्ती नियन्त्रणका लागि लगाइएको फेन्सिङ तारको अवलोकन गरे। प्रसाद गौडा क्षेत्रमा पुगेर स्थानीयसँग छलफल गर्दै समस्या बुझे।
साँझ ६ बजे भद्रपुर–९ स्थित जिल्ला कारागार झापाको निरीक्षण गरे।
त्यसपछि जिल्ला प्रशासन कार्यालय झापा पुगेर जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिए।
साँझ ७ः५० बजे भद्रपुर सीमा नाका पुगेर सशस्त्र प्रहरी चेकपोस्ट तथा नाकाको निरीक्षण गरे।
राति ८ः३० बजे नेपाल–भारत सीमास्थित भद्रपुर नाकाको निरीक्षणपछि जिल्ला प्रहरी कार्यालय झापा पुगे।
राति करिब ११ बजे जिल्ला प्रहरी कार्यालयबाट पुनः अर्जुनधारा–११ स्थित सालबारी हेरिटेज भिल्ला फर्किए।

विज्ञापन

गृहमन्त्री गुरुङले झापामा दोस्रो रात पनि सालबारी हेरिटेज भिल्लामै बिताएका छन्। उनी मंगलबार बिहान ८ बजे चन्द्रगढी विमानस्थलबाट काठमाडौं फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय