तक्षशिला प्रोग्रेसिभ स्कुलमा इन्भेष्टिचर समारोह, क्याम्ब्रिज एजुकेसनल पार्टनर घोषणा

बिर्तामोड । झापाको बिर्तामोडस्थित तक्षशिला प्रोग्रेसिभ इङ्गलिस स्कुलले आफ्नो शैक्षिक यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। विद्यालयले शुक्रबार विशेष समारोहबीच ‘इन्भेष्टिचर समारोह–२०८३’ सम्पन्न गर्दै आफूलाई औपचारिक रूपमा ‘क्याम्ब्रिज इङ्गलिस एजुकेसनल पार्टनर’ घोषणा गरेको छ।

सोही अवसरमा विद्यालयले प्रविधिमैत्री शिक्षालाई थप सुदृढ बनाउन थ्रीडीआई (3DI), न्यूजिल्याण्डसँग रणनीतिक सहकार्यको समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको छ। विद्यार्थी नेतृत्व विकास, अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य तथा अत्याधुनिक शिक्षाको समन्वयलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा विशिष्ट अतिथि, शैक्षिक व्यक्तित्व, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विज्ञापन

कार्यक्रमको सुरुआत नवनिर्वाचित विद्यालय परिषद्–२०८३ का पदाधिकारीहरूको शपथग्रहण तथा पदस्थापनबाट गरिएको थियो। विद्यार्थी नेताहरूले जिम्मेवारी, अनुशासन, इमानदारिता र सेवाभावका साथ आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही क्रममा विद्यालयका विभिन्न विभागीय प्रमुख शिक्षकहरूलाई सम्मानसमेत गरिएको थियो। विद्यालयका अनुसार यसले विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, उत्तरदायित्व र सामाजिक जिम्मेवारीको भावना विकास गर्ने दीर्घकालीन लक्ष्यलाई थप बल पुगेको छ।

विज्ञापन

समारोहको मुख्य आकर्षणका रूपमा रहेको क्याम्ब्रिज इङ्गलिस एजुकेसनल पार्टनर घोषणाले विद्यालयलाई अन्तर्राष्ट्रियस्तरको अङ्ग्रेजी भाषा शिक्षाको प्रवर्द्धन तथा विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम बनाउन महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको छ।

उक्त अवसरमा एलसीसीआई जीक्यू (LCCI GQ) का सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एवं नेपाल–बेलायत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष डा. रोशन राठीले विद्यालयकी कार्यकारी निर्देशक डा. अञ्जली कार्की र शैक्षिक निर्देशक डा. भिक्टर इग्रेसियस जोसेफलाई क्याम्ब्रिज इङ्गलिस एजुकेसनल पार्टनरको आधिकारिक प्लाक हस्तान्तरण गर्नुभएको थियो।

त्यसैगरी, क्याम्ब्रिज इङ्गलिस र तक्षशिला प्रोग्रेसिभ इङ्गलिस स्कुलबीच आपसी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। समझदारीपत्रमा डा. रोशन राठी र डा. अञ्जली कार्कीले हस्ताक्षर गर्नुभएको थियो भने डा. भिक्टर इग्रेसियस जोसेफको विशेष उपस्थिति रहेको थियो। विद्यालयले यस सहकार्यबाट विद्यार्थीहरूको अङ्ग्रेजी भाषा दक्षता अभिवृद्धि हुनुका साथै अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिकाइ प्रणालीको विस्तारमा सहयोग पुग्ने अपेक्षा गरेको छ।

विद्यालयले शैक्षिक गुणस्तरलाई विश्वस्तरीय बनाउने उद्देश्यले थ्रीडीआई, न्यूजिल्याण्डसँग पनि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको छ। उक्त सम्झौतामा थ्रीडीआईका प्रतिनिधि तथा विद्यालयकी कार्यकारी निर्देशक डा. अञ्जली कार्कीले हस्ताक्षर गर्नुभएको थियो। विद्यालयका अनुसार यस सहकार्यले नवप्रवर्तन, डिजिटल प्रविधि र भविष्यमुखी शिक्षालाई अझ प्रभावकारी रूपमा समावेश गर्न सहयोग पुर्‍याउनेछ।

समारोहमा विद्यार्थीहरूले भर्चुअल रियालिटी (VR), थ्रीडी प्रिन्टिङ, ड्रोन प्रविधि, रोबोटिक्स, वेब तथा एप विकासलगायतका अत्याधुनिक परियोजनाको प्रदर्शनी प्रस्तुत गरेका थिए। प्रदर्शनीले विद्यालयले व्यावहारिक, अनुसन्धानमुखी र प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राखेको सन्देश दिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिर्तामोड नगरपालिका शिक्षा शाखाका उपसचिव तिलचन्द भण्डारी तथा विशेष अतिथिका रूपमा नेपाल सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक अम्बिका प्रसाद जोशी सहभागी हुनुहुन्थ्यो। उहाँहरूले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन, नैतिकता र उत्कृष्टताको मार्गमा अघि बढ्न प्रेरित गर्दै अभिभावकलाई बालबालिकाको चौतर्फी विकासमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।

विद्यालयले आगामी दिनमा पनि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय, नवप्रवर्तनमुखी तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्दै विश्वस्तरमा प्रतिस्पर्धी, सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्ने आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय