|
679 SHARES |
झापा । झापाको शिवसताक्षी नगरपालिका–दुधे बजारको उत्तरतर्फ पानीट्याङ्की नजिक डाँडाको जंगल क्षेत्रमा अचेत अवस्थामा फेला परेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–११ दानाबारी निवासी अन्दाजी २९ वर्षीय विकल गहतराज रहेका छन्। स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी तत्काल दमक अस्पताल पुर्याइएका गहतराजको उपचारकै क्रममा मृत्यु भएको इलाम प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गहतराज डाँडामुनिको खोचमा अचेत अवस्थामा फेला परेका थिए। जंगलबाट लगातार कराएको आवाज सुनेपछि स्थानीयवासी घटनास्थल पुगेका थिए।
स्थानीय राजु दंगालका अनुसार गहतराज छटपटाइरहेको अवस्थामा भेटिएपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा तत्काल उद्धार गरी अस्पताल पठाइएको थियो।
प्रारम्भिक अनुसन्धानका आधारमा गहतराजले विष सेवन गरेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। घटनास्थलभन्दा माथिल्लो भागमा एउटा मोटरसाइकल, हेल्मेट र तौलिया फेला परेको प्रहरीले जानकारी दिएको छ।
घटनाको वास्तविक कारण भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जानकारी दिएको छ।










