|
943 SHARES |
बिर्तामोड। बिर्तामोडमा सम्पन्न थ्री एक्स थ्री ओपन मेयर कप बास्केटबल प्रतियोगिता २०८३ को उपाधि जेबीए झापाले जितेको छ।
झापा जिल्ला बास्केटबल सङ्घको आयोजना तथा बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा बुधबार सम्पन्न एकदिने प्रतियोगितामा सहभागी काेशीका ६ टोलीलाई पछि पार्दै जेबीए झापा च्याम्पियन बनेको हो।
लिटल फ्लावर इङ्लिस स्कुलको बास्केटबल कोर्टमा भएको फाइनल खेलमा जेबीए झापाले धरानको मेघा बास्केटबल टोलीलाई १७–९ अंकले पराजित गर्दै उपाधि आफ्नो नाम गरेको हो।
उपाधिसँगै जेबीए झापाले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
उपविजेता बनेको मेघा धरानले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।

प्रतियोगितामा झापा, धरान र विराटनगरका गरी ६ टोलीका २४ खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगिताकी सर्वोत्कृष्ट (एमभीपी) खेलाडीको उपाधि जेबीए झापाकी बिनामणि योन्जन लामाले जित्न सफल भइन्।
महिला बास्केटबल खेलको विकास, प्रतिभा पहिचान तथा खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।









